हुण्डीमार्फत रकम नपठाउन साउदीस्थित नेपाली दूतावासको आग्रह
काठमाडौं- साउदी अरबस्थित नेपाली दूतावासले आधिकारिक मनी ट्रान्सफर कम्पनीमार्फत रकम नेपाल पठाउन नेपाली समुदायको ध्यानाकर्षण गराएको छ ।
दूतावासले एक विज्ञप्ति जारी गर्दै बैंकिङ वा आधिकारिक ट्रान्सफर माध्यमबाट रकम पठाउँदा सुरक्षित, भरपर्दो हुने स्मरण गराउँदै बैंक खाता नभए खाता खोल्न र आफ्नो खातामा पैसा पठाउने बानीको विकास गर्न समेत अनुरोध गरेको छ ।
नेपालबाट वैदेशिक रोजगारमा गएकाहरुले मनी ट्रान्सफर वा बैंकिङ माध्यमबाट स्वदेश रकम पठाउने कानूनी व्यवस्था भएपनि व्यापारीले बिना शुल्क तथा छिटो रकम घरमा पुर्याइदिने र कुनै कमिसन नलाग्नेलगायतका प्रलोभनमा परेर विदेशी मुद्रा हात पार्ने गरेका छन् । त्यसले नेपालले पाउने विदेशी मुद्रा घटेको छ ।
हुण्डी, हवालालगायतका माध्यमबाट स्वदेशमा रकम पठाउनु अवैधानिक मात्रै नभएर असुरक्षित पनि रहेको भन्दै दूतावासले अनौपचारिक माध्यमबाट रकम पठाउने र प्राप्त गर्ने व्यक्तिसमेत जुनसुकै समयमा समस्यामा पर्न सक्ने विज्ञप्तिमा उल्लेख गरेको छ ।