शान्ति सेनामा खटिएका सैनिकको हत्या युद्ध अपराध- संयुक्त राष्ट्रसंघ


कङ्गो । कङ्गोमा एक जना नेपाली शान्ति सैनिक मारिएपछि संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरशले शान्ति सैनिकमाथिको आक्रमण युद्ध अपराध ठहर हुनसक्ने चेतावनी दिएका छन्।

उनले कङ्गोका अधिकारीहरूलाई उक्त घटनाको अनुसन्धान गर्न र दोषीलाई न्यायको कठघरामा ल्याउन आग्रह गरेका छन्। प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा रहेको राष्ट्रसङ्घीय मिसन मोनुस्कोमा खटिएका एक जना नेपाली सैनिकको विद्रोही समूहले गरेको आक्रमणमा मङ्गलवार निधन भएको थियो।

नेपाली सेनाले उक्त क्षेत्रमा खटिएका अरू शान्ति सैनिकहरू सुरक्षित रहेको भन्दै ज्यान गुमाएका शान्ति सैनिकको शव राष्ट्रसङ्घको समन्वयमा नेपाल ल्याइने जनाएको छ।

कसरी मारिए नेपाली सैनिक ?
नेपाली सेनाका प्रवक्ता नारायण सिलवालका अनुसार नेपाली शान्ति सैनिकले ‘अप्रेसन बाली सञ्चालनु गरिरहेको बेला विद्रोहीहरूले लुकेर गोली चलाएका थिए।’ त्यसक्रममा नेपाली शान्ति सैनिक घाइते भएका थिए। उनलाई हेलिकोप्टरबाट उद्धार गरेर उपचारका लागि बुनियास्थित राष्ट्रसङ्घीय अस्पताल लगिएको भए पनि उपचारका क्रममा उनको निधन भएको थियो।

अप्रेसन बालीका दौरान खटिएका अन्य नेपाली शान्ति सैनिक सुरक्षित रहेको सैनिक प्रवक्ताको भनाइ छ। नेपाली सेनाका प्रवक्ताले ती शान्ति सैनिक सिपाही सुर्खेतका अनिल गुरुङ भएको सामाजिक सञ्जाल ट्विटरमार्फत जनाएका छन्।

उनले लेखेका छन्, ‘शान्ति स्थापना जस्तो महान् कार्यमा ज्यान गुमाउने उनको उनको योगदान र सर्वोच्च बलिदानप्रति नेपाली सेना उच्च सम्मान गर्दछ।’ ‘दुखको यो घडीमा परिवारका सदस्यहरूलाई हार्दिक समवेदना प्रकट गर्दछौँ।’

आफ्ना सहप्रवक्तामार्फत जारी गरिएको विज्ञप्तिमा संयुक्त राष्ट्रसङ्घका महासचिवले पनि मृतक शान्ति सैनिकका परिवार, नेपाल सरकार र नेपाली जनतालाई समवेदना प्रकट गरेका छन्। मृतक सैनिकको शव संयुक्त राष्ट्रसङ्घको मुख्यालयसँगको समन्वयमा नेपाल ल्याइने सेनाका प्रवक्ताले बताए। उनी भन्छन्, ‘यसरी शान्ति मिसनका क्रममा ज्यान गुमाउने सैनिकहरूको शव नेपालमा ल्याउने व्यवस्था विगतमा पनि मिलाउने गरिएको छ।’

‘न्यूयोर्कस्थित हाम्रो राष्ट्रसङ्घीय मिसनसँग समेत समन्वय गरेर हामी ज्यान गुमाएका सैनिकको शव नेपाल ल्याउने व्यवस्था मिलाउँछौँ।’ सन् २०२२ को ज्यानुअरीसम्मको तथ्याङ्क अनुसार प्रजातान्त्रिक गणतन्त्र कङ्गोस्थित राष्ट्रसङ्घीय मिसनमा करिब १,१०० नेपाली शान्ति सैनिक खटिएका छन्।

नेपाली सेनाका प्रवक्ता सिलवालले संयुक्त राष्ट्रसङ्घ र नेपाली सेना दुवैले ज्यान गुमाउने शान्ति सैनिकका परिवारलाई राहत उपलब्ध गराउने बताए। उनले भने, ‘मिसन क्षेत्रको जोखिम अनुसार तोकिएको राहत र क्षतिपूर्ति रकम संयुक्त राष्ट्रसङ्घले परिवारलाई उपलब्ध गराउँछ। अङ्गभङ्ग हुनेहरूलाई पनि क्षतिपूर्ति दिने गरिन्छ।’ ‘त्यसबाहेक राष्ट्रसङ्घबाट सम्मान र नेपाली सेनाबाट पनि सहयोग उपलब्ध गराउने गरिन्छ।’ उनी थप्छन्, ‘हाम्रोतर्फबाट परिवारले प्राप्त गर्ने सुविधा, सम्मान, राहत, पेन्सन र कल्याणकारीले दिने सहुलियत सबै उपलब्ध हुन्छ।’

संयुक्त राष्ट्रसङ्घले मिसनमा खटिने क्रममा ज्यान गुमाएका शान्ति सैनिकलाई आफ्ना पूर्व महासचिवको नाममा स्थापित ड्याग ह्यामरशोल्ड मेडल समेत उपलब्ध गराउने गरेको छ। राष्ट्रसङ्घको महासभाले सन् २०१० अनुमोदन गरेको एउटा प्रस्ताव अनुसार मृतक शान्ति सैनिकलाई ७०,००० अमेरिकी डलर राहत स्वरूप उपलब्ध गराउने गरिन्थ्यो।

तर सन् २०१८ मा अर्को प्रस्ताव पारित गर्दै महासभाले अङ्गभङ्ग भएका र ज्यान गुमाएकाहरूलाई दिइने क्षतिपूर्ति रकम १० प्रतिशतले बढाउने निर्णय गरेको थियो। नेपाली सेनाको अनुसार हालसम्म ७२ जनाले शान्ति मिसनमा खटिँदा ज्यान गुमाएका छन् भने ६६ जनाको अङ्गभङ्ग भएको छन्।

प्रतिक्रिया