

६ महिनादेखि तलब नपाएपछि स्वास्थ्यकर्मीद्वारा सेवा बहिष्कार

रुकुम पश्चिम — रुकुम पश्चिमको जिल्ला अस्पतालमा कार्यरत १३ जना छात्रवृत्तिवाट नियुक्त स्वास्थ्यकर्मीले ६ महिनासम्मको तलब नपाएपछि आकस्मिकबाहेक सम्पूर्ण सेवा बहिष्कार गरेका छन् । अस्पताल प्रशासनको ढिलासुस्ती र जिम्मेवार निकायको उदासीनताले अहिले अस्पतालको नियमित सेवा प्रभावित भएको छ भने सर्वसाधारण बिरामीहरू मर्कामा परेका छन् ।
कार्तिकदेखि चैतसम्मको तलब–भत्ता नपाएको गुनासो गर्दै ती स्वास्थ्यकर्मीहरूले वैशाख ३ गतेसम्मका लागि अल्टिमेटम दिएका थिए । तर, समयमा कुनै सुनुवाइ नहुँदा उनीहरूले वैशाख ५ गतेदेखि सेवा अवरोधको कदम चालेका हुन् ।
छात्रवृत्तिमा कार्यरत १३ जनामध्ये ७ जना मेडिकल अधिकृत, २ जना डेन्टल सर्जन र ३ जना जनस्वास्थ्य अधिकृत छन् । यसबाहेक यसअघि विदाइ भएका ३ जना मेडिकल अधिकृत र १ जना डेन्टल सर्जनले पनि अहिलेसम्म तलब नपाएको गुनासो गरेका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार छात्रवृत्तिमा रहेका चिकित्सकका लागि कर्णाली प्रदेशमा १२ करोड रुपैयाँ बजेट पठाइसकिएको बताइएको छ । मन्त्रालयका नीति योजना तथा अनुगमन महाशाखा प्रमुख डा. कृष्णप्रसाद पौडेलले रकम प्रदेशमा पठाइसकेको जनाए पनि रकम जिल्ला तहमा पुग्न ढिलाइ भएको देखिन्छ ।
स्वास्थ्य सेवा निर्देशनालय, सुर्खेतका प्रमुख डा. रविन खड्काले दुई दिनअघि नै रकम सबै जिल्लामा निकासा भइसकेको बताए । तर, जिल्ला अस्पताल रुकुम पश्चिममा अझै पनि स्वास्थ्यकर्मीहरूले आफ्नो पारिश्रमिक नपाएको गुनासो गर्दै सेवा बहिष्कार गरिरहेका छन् ।

