राजनीतिक वृत्तमै भावी आईजीको चर्चा, ‘ट्रयाक रेकर्ड’सहित सुक्ष्म अध्ययन !


काठमाडौं – नेपाल प्रहरीको नेतृत्व परिवर्तन हुन अब ठ्याक्कै २९ दिन बाँकी छ। नयाँ प्रहरी महानिरीक्षक (आईजीपी) को बन्ला भन्ने यतिबेला सर्वत्र चासो छ। किनकि नयाँ आईजीले नजिकिएको स्थानीय चुनाव सम्पन्न गर्नुपर्नेछ।

पहिलो घेरामा रहेर निर्वाचनको मुख्य सुरक्षा जिम्मेवारी बहन गर्नुपर्ने भएकाले चुनावमा प्रहरी नेतृत्वको भूमिका विशेष हुने गर्छ। त्यसैले वर्तमान सरकारले प्रहरी संगठनको नेतृत्वमा आफू अनुकुलको व्यक्ति नियुक्त गर्ने सम्भावना छ।

आगामी १९ वैशाखमा नेपाल प्रहरीको नेतृत्व परिवर्तन हुन गइरहेका बेला चारजना प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) हरु प्रतिस्पर्धामा छन्। उनीहरु सबैले आफूलाई आईजीका प्रमुख दाबेदारका रुपमा प्रस्तुत गरेका छन्।

एआईजीहरु विश्वराज पोखरेल, सहकुल थापा, धीरज प्रताप सिंह र रवीन्द्र धानुक आईजीका प्रतिस्पर्धी हुन्। उनीहरु चारैजना एउटै ब्याचमेट समेत हुन्।

उनीहरु चारै जनाले आ-आफ्नो ठाउँबाट लबिङ गर्न सुरु गरिसकेका छन्। तर, योपटक प्रधानमन्त्री शेरबहादुर देउवा विनाआर्थिक कारोबार प्रहरीको नेतृत्व चयन गर्ने पक्षमा छन्।

प्रधानमन्त्रीको निर्देशनअनुरूप प्रधानमन्त्री कार्यालय र गृह मन्त्रालयले समेत योग्य र सक्षम व्यक्तिलाई नेतृत्व दिन आईजीका लागि प्रतिस्पर्धी रहेका एआईजीहरूको ट्रयाक भिडाएर सुक्ष्म अध्ययन गरिरहेको स्रोतले बतायो।

आर्थिक लेनदेनका आधारमा प्रहरीको नेतृत्व चयन गरेर सुशासन र शान्तिको अनुभूति गराउन नसक्ने भन्दै प्रधानमन्त्री देउवाले आफ्नै निकटमाथि समेत निगरानी राखेर काम थालेपछि यसपटक आईजी बनाउने खेलमा बिचौलियाको भूमिका शुन्य रहनेछ।

प्रहरी संगठनको सुदृढीकरणका लागि प्रधानमन्त्री देउवा निकै गम्भीर रहेको जानकारी पाएपछि गृहमन्त्री र प्रधानमन्त्री कार्यालयका वरिष्ठ अधिकारीहरूले सही व्यक्तिलाई आईजी बनाउन सेवा प्रवेशदेखि हालसम्मको ट्रयाक रेकर्डको अध्ययन गर्न थालिसकेका छन्।

तर, ट्रयाक रेकर्डमा दुई एआईजी अगाडि देखिएको गृह स्रोतको दाबी छ। देउवा नेतृत्वको सरकारले नयाँ आईजीका लागि सिंह र धानुकमध्ये एकजनाको नाम चयन गर्नसक्ने स्रोत बताउँछ।

वरीयतामा अहिले एआईजी पोखरेल अगाडि छन्। पोखरेलपछि थापा, सिंह र धानुक छन्। यी चारैजना २९ चैत २०४९ मा प्रहरी निरीक्षक (इन्स्पेक्टर) बनेका थिए।

तर, कार्यक्षमतामा सिंह अरुभन्दा अब्बल प्रहरी अधिकृत हुन्। त्यस्तै धानुक पनि प्रहरी संगठनमा काबिल प्रहरी अधिकृत हुन्। अब्बल दर्जाको कार्य कुशलता भएका कारण सिंह र धानुक प्रधानमन्त्री देउवाको रोजाईमा परेका छन्।

पोखरेललाई तत्कालिन नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री हुँदा ओएन्डएम नगरी एकल प्रहरी नायब महानिरीक्षक (डिआईजी)बाट एआईजी बनाएको थियो।

त्यस्तै थापा भने काभ्रेबाट चितवन हुँदै अपराध महाशाखामा रहँदा उत्कृष्ठ कार्यसम्पादन गरेका थापाले सिआईबीमा रहँदा बैंकिङ्ग कसुरका धेरै मुद्दाहरूमा सफलतापूर्वक अनुसन्धान गरेका थिए । त्यसैका आधारमा कार्यसम्पादनमा उत्कृष्ठ ठहरिँदै ओलीकै कार्यकालमा थापा एआईजीमा बढुवा भएका थिए । गत स्थानीय र संघीय निर्वाचनका समयमा काभ्रेमा रही विवादरहित निर्वाचन सम्पन्न गरेका कारण थापाको पनि सम्भावना रहेको स्रोतले बताएको छ ।

जबकी सुरक्षा संगठनमा दरबन्दी बढाउने वा घटाउने विषयमा ओएन्डएम हुनुपर्ने कानुनी मान्यता प्रावधान रहे पनि दुवैजनाको एआईजी बढुवा सिफारिस हुँदा नयाँ ओएन्डएम नभइकन दरबन्दी थपिएको थियो ।

त्यस्तै सिंह र धानुकलाई एक महिनाअघि देउवाले नयाँ दरबन्दी सिर्जना गरेर डिआईजीबाट एआईजीमा बढुवा गरेका हुन्।

हाल प्रधानमन्त्री र गृहमन्त्री एउटै पार्टीका छन्। प्रधानमन्त्री देउवाले गरेको निर्णयलाई गृहमन्त्री बालकृष्ण खाणले समेत सहमति दिने भएकाले सिंह र धानुकमध्ये एकजना आईजीको लागि प्रबल सम्भावना रहेको छ।

विश्वस्त स्रोतका अनुसार प्रधानमन्त्री देउवा र गृहमन्त्री खाणको रोजाईमा समेत सिंहको नाम सर्वसम्मत भएको छ। यता सत्ताघटक दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको रोजाइमा भने धानुकको नाम छ। धानुक प्रधानमन्त्रीको रोजाईमा समेत छन्।

‘विगतमा जसरी लेनदेन वा भनसुनका आधारमा आईजी नियुक्त हुन्न, आईजी बनाउने आधार सेवा प्रवेश गरेदेखि हालसम्मको ट्रयाक रेकर्ड हो। आर्थिक पारदर्शिता हो। यसमा जुन एआईजी सबैभन्दा योग्य देखिन्छन्, उसैलाई आईजी बनाइन्छ,’ प्रधानमन्त्री निकट स्रोतले भन्यो।

स्रोतका अनुसार आईजीको विषयमा भनसुन गर्न बालुवाटार पुग्ने जो कोहीलाई प्रधानमन्त्री देउवाले यस्तै जवाफ दिनेगरी तयारी गरेका स्रोत बताउँछ। आईजी बनाउने विषयमा प्रधानमन्त्री देउवाले सबै सत्ताघटक दलका शीर्ष नेताहरुको पनि सुझाव लिने बताइएको छ।

सरकारले सबै एआईजीको सेवा प्रदेशदेखि हालसम्मको ट्रयाक रेकर्ड हेर्नेछ। स्रोतका अनुसार ट्रयाक रेकर्डमा प्रधानमन्त्री देउवा र गृहमन्त्री खाणले बनाएको मापदण्डमा दुई एआईजी देखिएका छन्। सायद उनीहरूमध्ये नै एकजना आईजी हुन्छन्,’ गृह स्रोतले भन्यो।

ट्रयाक रेकर्ड हेर्नुको कारण हो- पोखरेल सबैभन्दा अगाडि एआईजीमा बढुवा भएका थिए भने त्यसपछि थापा एआईजी भएका हुन्। त्यसैले पोखरेलले आफू सिनियर एआईजी भएको कारण आफुले संगठनको नेतृत्व गर्न पाउनुपर्ने बताउँदै आएका छन्।

त्यस्तै थापाले पनि आफू कार्यक्षमतामा अब्बल रहेको र एआईजी बढुवामा पनि अघि परेको हुँदा संगठन प्रमुख आफूलाई बनाउनुपर्ने भन्दै लबिङ गर्दै आइरहेका छन्।

००००
०७९ वैशाख १८ गते ३० वर्षे सेवा अवधिका कारण वर्तमान आईजी शैलेश थापा क्षेत्रीले प्रहरी सेवाबाट अनिवार्य अवकाश पाउँदैछन्। क्षेत्री निवृत्त भएसँगै नेपाल प्रहरीले आउँदो वैशाख १९ गते प्रहरी संगठनको २९ औँ आईजी पाउनेछ।

आईजी क्षेत्रीसँगै एआईजीहरु हरि पाल, प्रधुम्न कार्की र निरज शाही पनि बिदा हुनेछन्न्। आईजी क्षेत्रीको अवकाशसँगै नयाँ आईजी बन्न प्रहरीभित्र चलखेल सुरु भएको हो।

गत ५ फागुनमा बसेको मन्त्रिपरिषद् बैठकले एआईजीको तीनवटा दरबन्दी थप्ने निर्णय गरेको थियो। लामो समयपछि चैत १ गते बसेको मन्त्रिपरिषद्को बैठकमा गृहमन्त्रालयले ३ जना डिआईजीहरु वसन्त पन्त, सिंह र धानुकलाई एआईजीमा बढुवा सिफारिस गरेको थियो।

त्यसपछि भावी आईजीका लागि ४ जना प्रत्यासी देखिने स्थिति बनेको हो। त्यसअघि पोखरेल र थापा आईजीका दाबेदार थिए। सिंह र धानुक एआईजीमा बढुवा भएसँगै आईजी बन्ने प्रतिस्पर्धा बढेको हो।

यता बढुवा भएका एआईजी पन्त आईजी क्षेत्रीकै ब्याचमेट भएकाले आगामी १९ वैशाखमा अवकाशमा जानेछन्। उनले आईजीको लागि प्रतिस्पर्धा गर्न पाउने छैनन्।

हाल नेपाल प्रहरीमा एआईजीको दरबन्दी प्राविधिकबाहेक ८ पुगेको छ।

प्रतिक्रिया