

वैदेशिक रोजगारीमा आफन्त गुमाउनेलाई अनलाइनबाटै क्षतिपूर्ति

काठमाडौं – वैदेशिक रोजगारीका क्रममा ज्यान गुमाउने र अंगभंग हुने श्रमिक वा उनीहरूका हकवालाले अनलाइनबाटै क्षतिपूर्ति पाउने भएका छन् । वैदेशिक रोजगार बोर्डले अनलाइनबाट क्षतिपूर्ति दिइने व्यवस्था लागू भएको जनाएको छ। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा सोमबार पत्रकार सम्मेलन गर्दै श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्णकुमार श्रेष्ठले अनलाइनबाटै क्षतिपूर्ति दिने प्रणाली सुरुवात गरेका हुन् ।
यसो हुँदा क्षतिपूर्तिका लागि टाढा-टाढादेखि बोर्डको सचिवालय धाउनुपर्ने बाध्यताको अन्त्य भएको छ। वैदेशीक रोजगार बोर्डले तयार पारेको अनलाइन प्रणालीबाट पीडितले घरमै बसेर अनलाइनमार्फत क्षतिपूर्ति पाउने भएका हुन् । बोर्डले तयार पारेको यो प्रणालीमार्फत विदेशमा आफन्त गुमाएका वा वैदेशिक रोजगारीका क्रममा घाइते भएका पीडितले घरमै बसेर क्षतिपूर्ति आवेदन गर्न पाउनेछन् ।
उनीहरूले बोर्डले तयार पारेको प्रणालीमा राहदानी विभागले उपलब्ध गराउने राहदानी कोड (पासपोर्ट नम्बर) हालेपछि प्रणालीले आवश्यक सम्पूर्ण कागजात आफै उपलब्ध गराउने छ । कुन देश गएको, कुस्तो प्रकृतिको रोजगारीमा गएको, कहिले गएको, कुन कम्पनीमा गएको जानकारी दिन्छ । यसपछि, अन्य आवश्यक प्रकृया पनि सोही प्रणालीले मिलाउने बोर्डले बताएको छ ।
यसअघि, पीडित पक्ष देशको जुनसुकै कुनाबाट काठमाडौंमा रहेको बोर्डको कार्यालयमै उपस्थित हुनुपर्थ्यो । त्यसका लागि वडाको सिफारिस आवश्यक पर्थ्यो । अब यस्तो प्रकारको कुनै पनि झन्झट आवश्यक नपर्ने बताइएको छ ।
त्यस्तै, वैदेशिक रोजगारमा गएर फर्किएकाहरूले अर्को पटक जाँदा अभिमुखीकरण तालिम लिनु नपर्ने भएको छ। हाल नयाँ तथा पुनः श्रम स्वीकृति लिने सबैले अभिमुखीकरण तालिम लिनुपर्ने व्यवस्था छ। श्रममन्त्री श्रेष्ठले एक पटक गएर पुनः सोही काममा जानेले अभिमुखीकरण तालिम लिनुनपर्ने बताएका हुन्। उनका अनुसार श्रमिहरू सम्बन्धित गन्तव्य मुलुकबारे जानकार रहेकाले फेरि अभिमुखीकरण नभएको आवश्यकता महशुस गरी यो व्यवस्था गरिएको हो।

