

मल्कवाङमा पाँच महिनापछि बल्यो बिजुली

म्याग्दी – पहिराले क्षति पुगेर बन्द भएको म्याग्दीको धवलागिरि गाउँपालिका–५ मल्कवाङस्थित नन्दीवाङ खोला लघुजलविद्युत् परियोजना पुनःनिर्माण गरी सञ्चालनमा ल्याइएको छ ।
केन्द्रीय प्रशारण लाइनको विद्युत् नपुगेको मल्कवाङको नन्दीवाङमा कात्तिक २ गतेको पहिराले करिब ४० मिटर पाइपलाइनमा क्षति पुर्याएको थियो ।
धवलागिरि गाउँपालिकाको रु नौ लाख अनुदान सहयोगमा नयाँ पाइपलाइन खरिद र जडान गरेर पाँच महिनापछि बिजुली बालिएको वडाध्यक्ष खर्ककुमारी छन्त्यालले जानकारी दिए । ‘कात्तिकदेखि अन्धकार भएको मल्कवाङमा बिजुली बल्न थालेको छ’, उनले भने, ‘पहिराले क्षति पुगेको पाइप परिवर्तन गरेर परियोजना सञ्चालन गरिएको हो ।’
बयालिस किलोवाट क्षमताको परियोजनाबाट मल्कवाङ, भेडिखाल्टा, मलम्पार र छिमेकी वडा नं ६ को बुलका ३५० घरधुरीमा विद्युत् उपलब्ध गराइएको परियोजनाका अध्यक्ष दलमान छन्त्यालले बताए । विसं २०७३ मा दुई करोड १७ लाख ७९ हजार २६१ को लागतमा निर्माण गरिएको जलविद्युत् परियोजनामा पाँच महिनाअघि आएको बाढीले क्षति पुर्याएपछि बन्द भएको थियो ।

