बैँकिङ कसुर मुद्दाका तीन जना फरार प्रतिवादी पक्राउ
काठमाडौं – बैंकिङ कसुर मुद्दाका तीन जना फरार प्रतिवादीलाई महानगरीय अपराध महाशाखा मिनभवनबाट खटिएको प्रहरीले छुट्टाछुट्टै स्थानबाट पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा काठमाडौंको गोङ्गबु बस्ने गोरखा भीमसेन थापा गाउँपालिका–६ का २५ वर्षीय निसम विक, काठमाडौंको मनमैजु बस्ने मकवानपुर हेटौँडा उपमहानगरपालिका–१७ का ३२ वर्षीय मुन्दिप भुजेल र काठमाडौं रामकोट बस्ने गोरखा बारपाक सुलिकोट गाउँपालिका–३ की ३६ वर्षीया शान्ता कोइराला दवाडी रहेका छन् ।
निसम र मुन्दिपलाई विहीबार र शान्तालाई आज शुक्रबार पक्राउ गरिएको महाशाखाले आज एक सूचना जारी गरी जनाएको छ । बैंकिङ कसुर मुद्दामा उच्च अदालत पाटन ललितपुरको गत मंसिर १२ को फैसलाले मुन्दिपलाई ४ दिन कैद र रु ९ लाख जरिवाना तथा गत मंसिर २१ को फैसलाले शान्तालाई रु ९ लाख ९० हजार जरिवाना हुने ठहर भएको थियो ।
निसमको नाममा भने बैकिंङ कसुर मुद्दामा पक्राउ पूर्जी जारी भएको थियो । महाशाखबाट खटिएको प्रहरीले मुन्दिपलाई काठमाडौं को मनमैजुबाट, निसमलाई वनस्थलीबाट र शान्तालाई सितापाइलाबाट पक्राउ गरेको हो । दुई जनालाई फैसला कार्यान्वयनको लागि आजै जिल्ला अदालत काठमाडौं मा पेश गरिएको छ भने निसमलाई थप अनुसन्धानका लागि महानगरीय प्रहरी परिसर काठमाडौं पठाइएको महाशाखाले जनाएको छ ।