महोत्तरीमा ४८ फरार प्रतिवादी पक्राउ


जलेश्वर – महोत्तरीमा चालू आर्थिक वर्षको माघ मसान्तसम्म ४८ फरार प्रतिवादी पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता डिएसपी प्रकाश विष्टले जिल्ला अदालत महोत्तरीबाट प्राप्त फरार प्रतिवादीको सूचीमध्येबाट ४८ जना पक्राउ गरी उनीहरूलाई कैद भुक्तानका लागि कारागार पठाएको बताए ।

उनले ४८ जनाबाट १७ वर्ष आठ महिना कैद उसुल र एघार लाख ३७ हजार एक सय ९० जरिवाना उसुलउपर गरिएको थपे ।

एउटै मुद्दामा समेत एक वा एकभन्दा बढी मानिसहरू प्रतिवादी हुने गरेको, तर एउटै पनि अदालतमा पेस नभएको वा एक वा केहीजना अदालतमा हाजिर भए बाँकीहरू हाजिर नहुँदा उनीहरूलाई समेत कुनै मुद्दामा सजाय सुनाउँदा उनीहरू बाहिरबाट नै भाग्ने गरेकाले त्यस्ता व्यक्तिहरू फरार प्रतिवादीहरूको सूचीमा अत्यधिक रहेको प्रवक्ता डिएसपी विष्टले बताए ।

उनले अदालतबाट धरौटीमा छुटेकाहरूसमेत अन्तिम फैसलाको समय सजाय पाउदा भाग्ने गरेका बताए । प्रहरीले एक टोली नै बनाई यस्ता फरार प्रतिवादीहरूलाई पक्राउ गरिरहेको उनले जानकारी दिए ।

प्रतिक्रिया