‘ओलीले उद्घाटन गरेको कालिञ्चोकको केबलकार अवैध’


काठमाडौं – पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ‘अवैध केबलकार’ उद्घाटन गरेको भन्दै नेकपा माओवादी केन्द्रले विरोध गरेको छ।

माओवादी केन्द्र दोलखा कालिन्चोक गाउँपालिका संगठन कमिटीका अध्यक्ष नवराज अर्यालले एक विज्ञप्ती जारी गर्दै उक्त केबलकार अवैध भएको दावी गरेका छन्।

शुक्रबार एमाले अध्यक्ष ओलीले दोलखाको कालिञ्चोक भगवती मन्दिरमा सञ्चालनमा रहेको केबलकारको उद्घाटन गरे। तर, उक्त अवैध भन्दै माओवादी केन्द्रले विरोध जनाएको हो।

जारी विज्ञप्तिमा भनिएको छ, ‘पूर्वप्रधानमन्त्री जस्तो व्यक्तिले अवैध केबुलकार उद्घाटन गरेर राज्यमाथि नै खिल्ली उडाउने यो कार्य तत्काल बन्द गर्न नेकपा माओवादी केन्द्र कालिञ्चोक गाउँपालिका संगठन कमिटी आव्हान गर्दछ। यदि कालिञ्चोकबासी जनसमुदायप्रति उक्त प्रालि जिम्मेवार नबनेमा माओवादी केन्द्र कालिञ्चोक गाउँपालिका संगठन कमिटीले उक्त केबलकार बन्द गराउने पक्षमा लाग्न बाध्य हुनेछ।’

केबलकार सञ्चालक कालिञ्चोक दर्शन प्रालिले गौरीशंकर संरक्षण क्षेत्रको रोहवरमा स्थानीयसँग वातावरणीय प्रदूषण मूल्याँकन गर्दा गरेका सम्झौताहरु पालना नगरेको, कम्पनीले एकाधिकार लादेर स्थानीय होटल व्यवसायीहरुको रोजिरोटी खोसेको, राज्यको कुनैपनि निकायसँग आधिकारिक स्वीकृती नलिएको भन्दै उक्त केबलकार अवैध भएको माओवादीले जनाएको हो।

प्रतिक्रिया