विद्युत प्राधिकरणले आईपीओ निष्कासन गर्दै


काठमाडौं – पूर्ण सरकारी स्वामित्वमा रहेको नेपाल विद्युत् प्राधिकरणले सर्वसाधारणलाई शेयर निष्कासनको तयारी गरेको छ । सरकारले प्राधिकरणको दोस्रो वित्तीय पुनःसंरचना गर्ने योजनाअन्तर्गत शेयर निष्कासनका लागि सहमति दिएसंगै कम्पनीले सर्वसाधारणलाई शेयर निष्कासनको तयारी गरिएको हो ।

प्राधिकरण विद्युत् व्यापार, उत्पादन, वितरण तथा प्रसारण गर्दै आएको सरकारी कम्पनी हो । अब त्यसमा जनताको पनि स्वामित्व हुने छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले शेयर जारी गर्ने विषयमा छलफल अगाडि बढाइएको बताए । अर्थ र ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले स्वीकृति दिएपछि शेयर निष्कासन गरिने उनको भनाइ छ ।

सरकारको स्वीकृतिमा नेपाल विद्युत् प्राधिकरण ऐनमा भएको व्यवस्थाबमोजिम सर्वसाधारणलाई शेयर जारी गरिने उनले बताए । प्राधिकरणले ‘डबल ए प्लस’ क्रेडिट रेटिङ पाएको छ । इक्रा नेपालले प्राधिकरणको क्रेडिट रेटिङ गरी ‘इक्रा एनपी डबल ए प्लस’ स्तरको रेटिङ प्रदान गरेको हो ।

डबल ए प्लस रेटिङ प्राप्त गर्ने संस्थाको आफ्नो वित्तीय तथा आर्थिक दायित्व समयमै वहन गर्न सक्ने उच्च क्षमता सुरक्षित हुनुका साथै न्यून ऋण भुक्तानी जोखिम हुन्छ । इक्रा नेपालले प्राधिकरणको वित्तीय अवस्था, सम्पत्ति, व्यावसायिक तथा वित्तीय जोखिमहरूको विश्लेषण, व्यवस्थापकीय क्षमता, सञ्चालन प्रभावकारितामा प्रभाव पार्ने आन्तरिक तथा बाह्य वातावरणीय तत्वहरूलगायतको विश्लेषण गरेको थियो ।

प्रतिक्रिया