


पूजा शर्मा भन्छिन्- ‘बज्रपातका बाबजुद सन्तानलाई जन्म दिएका छौं’

काठमाडौं – ‘म यस्तो गीत गाउँछु –२’ आजदेखि रिलिज भएको छ । नायिका एवं निर्मात्री पूजा शर्माले सामाजिक सञ्जालमा आफ्नो अभिव्यक्ति सार्वजनिक गर्दै आफूहरुले साढे २ वर्षको कडा मिहेनतपछि फिल्म रिलिज गरेको बताएकी छिन् ।
उनले कुनै पनि आमाले सन्तानको जन्मपछि आफूले भोगेका सबै पीडा भुलिदिने बताउँदै चलचित्र आफ्ना लागि सन्तान बराबरी भएकोले विभिन्न हण्डर र ठक्करका बाबजुद रिलिज गर्न सफल भएकोमा खुशी समेत व्यक्त गरेकी छिन् ।
उनले सामाजिक सञ्जालमा लेखेकी छिन्, ‘एउटी आमालाई नौ महिनासम्म सन्तान पेटमा राखेर जन्म दिन निक्कै नै कष्टपूर्ण हुन्छ । तर, सन्तानको जन्मपछि आफूले भोगेका सबै पीडाहरु आमाले भुलिदिन्छिन् र मुस्कुराउँछिन् । आज म त्यस्तै महशुश गरिरहेकी छु । हामीलाई ‘म यस्तो गीत गाउँछु २’ नामक हाम्रो सन्तान जन्माउन त साढे २ बर्ष भन्दा बढी लाग्यो । विभिन्न हन्डर, ठक्कर र बज्रपातका बाबजुत आज हामीले सन्तानलाई जन्म दिएका छौ र हजुरहरुमाझ प्रस्तुत गरेका छौ । अब, हामीले निक्कै मिहिनेतका साथ जन्माएको सन्तान तपाइहरुको अगाडि छ । यसलाई माया दिने, हुर्काउने र बढाउने जिम्मा यहाँहरुकै हो । एउटा सुन्दर प्रेमकथामा सांगीतिक लभ स्टोरी चलचित्र बनाउने कोशिश गरेका छौ । तपाइको गाली र ताली दुबै स्विकार्य छ । नेपाली चलचित्र क्षेत्रले नै २ बर्षदेखि भोगेको पीडालाई यो चलचित्रले थोरै भएपनि मल्हम लगाउने अपेक्षा गरेका छौ । बाकी, भगवान् रुपी दर्शकको हातमा ।‘
सुदर्शन थापा प्रोडक्सनबाट निर्माण गरिएको उक्त चलचित्रमा पूजा शर्मा सुदर्शन थापा निर्माता रहेका छन् भने सहनिमार्तामा जन्म जय र साम्पाङ राई रहेका छन् ।
सुदर्शन थापाले निर्देशन गरेको म यस्तो गीत गाउँछु–२ मा पल शाह र पूजा शर्माको मुख्य भूमिका रहेको छ ।

