चितवन राष्ट्रिय निकुञ्जभित्र नमुना घाँसे मैदान बनाउने तयारी


चितवन – चितवन राष्ट्रिय निकुञ्जभित्र नमुना घाँसे मैदान बनाउने तयारी गरिएको छ । निकुञ्जले पाँच ठाउँमा १० देखि १५ हेक्टरको मैदान बनाउन राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागमा प्रस्ताव पेस गरेको छ । वर्षैभरि व्यवस्थित गर्ने गरी घाँसे क्षेत्र बनाउन लागिएको हो ।

निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्यका अनुसार वर्षमा तीन पटक व्यवस्थापन गर्ने गरी मजदुर कर्मचारी परिचालन गरेर घाँसे मैदान व्यवस्थित गर्न लागिएको हो । एक वर्षमा एक करोड रुपैयाँ हाराहारी खर्च हुने निकुञ्जको अनुमान छ । अहिलेसम्म निकुञ्जभित्रका मैदान वर्षमा एक पटक मात्र व्यवस्थापनको काम गर्ने गरिन्छ ।

ठूला ढड्डी र मिचाहा प्रजाति फालेर घाँसे मैदानलाई व्यवस्थित गर्ने गरिन्छ । संरक्षण अधिकृत आचार्यले घाँसे मैदान आफैँ बन्न दिनुपर्ने भए पनि यहाँको भू–बनोट फरक भएकाले व्यवस्थापन गर्नुपरेको जानकारी दिए ।

उनले भने, निकुञ्जभित्रका घाँसे मैदान पहिलेका मानवबस्ती भएकाले मिचाहा प्रजाति, ढड्डी र बुट्यान धेरै पलाउँदा नियमित व्यवस्थापन गर्नुपरेको हो। निकुञ्ज स्थापना हुनुअघि मानवबस्ती भएका क्षेत्रपछि निकुञ्जको घाँसे मैदान बनेका हुन्। निकुञ्जभित्र आठ हजार नाै सय ९५ दशमलव २ हेक्टर यस्ता मैदान छन् । यसमध्ये बजेटका आधारमा अधिकतम घाँसे मैदानको व्यवस्थापन गर्ने गरिन्छ ।

निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार चालु वर्षमा बजेट कम आएकाले थोरै मात्र घाँसे मैदान निर्माणको काम गरिँदै छ । यस वर्ष ५० हेक्टर नयाँ घाँसे मैदान व्यवस्थापन गरिँदै छ भने तीन सय आठ हेक्टर पुरानोलाई व्यवस्थापन गरिँदै छ । यस वर्ष घाँसे मैदान निर्माणका लागि २५ लाख र व्यवस्थापनका लागि ३८ लाख ३५ हजार रुपैयाँ बजेट निकासा भएको छ ।

तिवारीका अनुसार गएकाे वर्ष सात सय हेक्टर घाँसे मैदान निर्माण र चार सय हेक्टर व्यवस्थापन गरिएको थियो । निर्माणका लागि गएको वर्ष तीन करोड ५० लाख र व्यवस्थापनका लागि ९९ लाख ५७ हजार रुपैयाँ खर्च गरिएको थियो ।

आर्थिक वर्ष २०७६/७७ मा ६ सय हेक्टर घाँसे मैदान निर्माण गरिएको थियो । त्याे आवमा तीन करोड १० लाख रुपैयाँ खर्च गरिएको थियो । व्यवस्थापनमा २८ लाख ९९ हजार रुपैयाँ खर्च भएको निकुञ्जले जनाएको छ । त्यही वर्ष ५७ दशमलव ७९ हेक्टर घाँसे मैदान व्यवस्थापन गरिएको थियो । कोभिडका कारण बजेट कटौती हुँदा घाँसे मैदान निर्माणमा बजेट अपुग भएको उनले बताए।

उनले भने, ‘यो बजेट अत्यन्त कम भयो ।’ चितवन राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष प्रकाश ढुङ्गानाले निकुञ्जभित्रको घाँसे मैदान राम्रो व्यवस्थापन हुन नसकेमा वन्यजन्तु मानवबस्ती आउन सक्ने बताए । घाँसे मैदान व्यवस्थापन र नयाँ निर्माणमा निकुञ्जले खर्च गर्नुपर्ने उनको भनाइ छ ।

निकुञ्जभित्र राम्रो घाँस खान नपाएमा दुर्लभ एक सिङ्गे गैँडा र बाघका प्रजाति आहारा खानाका लागि मानवबस्ती प्रवेश गर्ने र दुःख दिने उनको भनाइ छ । मानव र वन्यजन्तुबीचकाे द्वन्द्व कम गर्नका लागि निकुञ्जभित्रको घाँसे मैदान व्यवस्थित हुनुपर्ने विज्ञ बताउँछन् । निकुञ्जमा ६ सय ९४ गैँडासँगै बाघका प्रजाति, चित्तल, जरायो, बँदेल जस्ता वन्यजन्तुका लागि घाँसे मैदान आवश्यक पर्दछ ।

कोभिडका कारण पर्यटक घटेसँगै मध्यवर्तीमा खर्च हुने रकम कम भएको छ । यसका कारण मध्यवर्ती सामुदायिक वनले घाँसे मैदानमा खर्च गर्नका लागि बजेट अभाव छ । पर्या–पर्यटनमा काम गर्ने सामुदायिक वनमा पर्यटक घुम्न कम आउँदा आम्दानी हुन पाएको छैन । यसले पनि दुर्लभ वन्यजन्तुको वासस्थान व्यवस्थापन राम्रो हुन सकेको छैन ।

प्रतिक्रिया