वीरमा कोभिड–१९ युनिफाइड अस्पताल सञ्चालन, एकै साथ ५ सय बिरामीलाई सेवा


काठमाडौं – सरकारले वीर अस्पताललाई कोभिड–१९ युनिफाइड केन्द्रीय अस्पतालको रुपमा सञ्चालनमा ल्याएको छ । अस्पतालमा अक्सिजन जडान गरी बुधबारदेखि बिरामीको उपचार शुरु गरिएको अस्पतालका प्रमुख प्रशासकीय अधिकारी डा.जागेश्वर गौतमले जानकारी दिए ।

अहिले अस्पतालमा ५० जना सङ्क्रमितलाई भर्ना गरी उपचार सुरु गरिएको छ । ‘अहिले सबै शय्यामा बिरामी राखिएको छैन । पर्याप्त मात्रामा अक्सिजन जडान भएपछि अस्पताललाई पूर्ण रुपमा सञ्चालन गर्ने छौं,’ डा.गौतमले भने । केही दिनमा सय शैंया र पछि सबै पूर्वाधार जडान भइसकेपछि सबै शैंया सञ्चालनमा ल्याउने उनले बताए । सरकारले वीर अस्पतालको ५०० शैंयाको नयाँ सर्जिकल भवनमा नै युनिफाइड अस्पताल सञ्चालन गरेको हो ।

अहिले अस्पतालमा तरल अक्सिजन र सिलिण्डर अक्सिजनको व्यवस्था गरिएको छ । डा. गौतमले अस्पतालमा दुई वटा अक्सिजन प्लान्ट र एउटा तरल अक्सिजन प्लान्ट जडान गरिने जानकारी दिए । ‘एक–दुई दिनभित्रमा अक्सिजन प्लान्ट जडान गरेर सबै शैंयामा बिरामी राखेर उपचार सुरु गर्ने छौँ,’ डा.गौतमले भने ।

कोभिड–१९ सङ्क्रमितको निदान र उपचारको काम एकीकृत रुपमा सञ्चालन र व्यवस्थापन गर्न कोभिड–१९ संकट व्यवस्थापन अध्यादेश–२०७८ मार्फत सरकारले वीरलाई युनिफाइड केन्द्रीय अस्पतालको रुपमा सञ्चालनमा ल्याउने निर्णय गरेको थियो । अस्पतालमा आइसियु र एचडियु पनि थप गरिने छ । अहिले वीर अस्पतालमा १२५ र राष्ट्रिय ट्रमा सेन्टरमा ७५ सङ्क्रमितको उपचार भइरहेको छ । दुवै अस्पतालमा अहिले ३५ आइसियु र एचडियु छन् ।

युनिफाइड अस्पतालले सङ्क्रमितको उपचार व्यवस्थापन, अक्सिजन, आइसोलेसन, एचडियु र आइसियुको व्यवस्थापन गर्ने, टेलिमेडिसिन कल सेन्टर, होम आइसोलेसन फलोअप, एम्बुलेन्स, आकस्मिक सेवा समेत सञ्चालनमा ल्याएको छ । युनिफाइड अस्पतालले शय्या खाली भएका स्वास्थ्य संस्थामा सङ्क्रमितको भर्नाका लागि आवश्यक समन्वय गर्नेछ । केन्द्रीय अस्पतालले प्रदेश सरकारसँग समन्वय गरी प्रदेशस्थित सङ्घ वा प्रादेशिक अस्पताललाई कोभिड–१९ युनिफाइड प्रादेशिक अस्पतालको रुपमा तोक्ने सक्ने छ ।

सङ्क्रमितको दैनिक तथ्याङ्कका आधारमा अस्पताल भर्ना गरी उपचार गर्नुपर्ने बिरामीको आँकलन गरी तयारी अवस्थामा राख्न लगाउने, शैंया खाली भएका स्वास्थ्य संस्थामा सङ्क्रमितको भर्नाका लागि आवश्यक समन्वय र आवश्यकता अनुसार निर्देशन दिने सक्ने छ ।

यस्तै अस्पतालले आवश्यकता ठानेमा जुनसुकै स्वास्थ्य संस्थालाई कोभिड– १९ अस्पतालको रुपमा सञ्चालन गर्न आदेश दिने, मन्त्रालयसँग समन्वय गरी आवश्यक भौतिक पूर्वाधार, औषधि, स्वास्थ्य सामग्री, उपकरण र अन्य आवश्यक सामग्री र जनशक्तिको व्यवस्थापन तथा परिचालन गर्ने, कोभिड– १९ को रोकथाम, नियन्त्रण, निदान र उपचारको लागि आवश्यक पर्ने उपचार सम्बन्धी मापदण्ड अस्पतालले जारी गर्ने छ ।

प्रतिक्रिया