प्रधानमन्त्रीले देशलाई ठूलो सङ्कटबाट जोगाउनुभयोः बिजुक्छे


रमेश गिरी(रासस)

भक्तपुरनेपाल मजदूर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् भङ्ग गरेर देशलाई ठूलो सङ्कटबाट जोगाएको बताएका छन् । उनले प्रधानमन्त्रीले चालेको कदम उपयुक्त र राम्रो भएकाले त्यसको विरोधमा नलागी नयाँ जनादेशमा जानुपर्नेमा जोड दिएका छन् ।

वर्तमान राजनीतिक घटनाक्रमका बारेमा कुरा गर्दै उनले भने, ‘प्रधानमन्त्रीको कदमले देशलाई खतराबाट रोकेको छ, तत्काल देशलाई भड्खालोबाट जोगाएको छ, पार्टी फुटे अर्को बन्ला, देश फुटे के गर्ने ? यतिखेर ओलीले देश फुट्नबाट जोगाउनुभएको छ, तर यो सङ्कट अझै टरेको छैन, आगामी दिनमा अझै खतरा छ, चलखेल अझै हुन्छ, यसतर्फ अब जनता सजग हुनु जरुरी छ ।

संविधानले परिकल्पना गरेको मान्यता र  संविधानभित्रै रहेर प्रधानमन्त्रीले  कदम चालेको जिकिर गर्दै पूर्वसांसद बिजुक्छेले संविधानभित्रका केही कमजोरीलाई संशोधन गरेर जानुपर्ने आवश्यकता भने औल्याए ।  

प्रधानमन्त्री ओलीले कु गरे भन्नु गलत भएको टिप्पणी गर्दै नेता बिजुक्छेले राज्य विद्रोह, सैनिक विद्रोह गराएर सत्ता कब्जा गर्ने खेललाई मात्रै कु भन्न मिल्ने तर्क राखे । उनले भने, ‘प्रधानमन्त्रीले कु  गर्नुभएको होइन, बरु कु असफल चाहिँ पार्नुभएको हो ।

दुई तिहाइ बहुमत नजीकको सरकारका राष्ट्रपति र प्रधानमन्त्रीविरुद्ध आफ्नै नेताहरु नै लाग्नु बाह्य चलखेल भएको जिकिर गर्दै उनले यसमा प्रधानमन्त्री ओली निकै सचेत भएको र अझै सचेत हुनु जरुरी रहेको बताए । बयासी वर्षीय नेता बिजुक्छेले भने, ‘देशमाथि आएको यस्तो सङ्कटमा पनि यो कदम नचालेको भए इतिहासले ओलीलाई लाछी प्रधानमन्त्री भन्थ्यो, उहाँले देशलाई विभाजन हुनबाट जोगाउन यो कदम चाल्नुभएको हो ।

गुमेको नेपाली भूमि नक्शामा समावेश गरी भूमि फर्काउने अडान ओलीले कायम राखेकाले पनि अहिलेको परिस्थिति आएको तर्क उनले दिए । उनले नयाँ जनादेशका लागि चुनावमा जानाको विकल्प नभएको जनाउँदै सरकारले तोकिएकै मितिमा निष्पक्ष र धाँधलीरहित चुनाव गराउनुपर्नेमा जोड दिए ।

प्रतिक्रिया