

नेपालमा ओमिक्रोन भेरिअन्टको बर्चस्व, संक्रमितले कति दिन बस्नुपर्छ आइसोलेशनमा ?

काठमाडौं – कोरोना भाइरस महामारीको तेस्रो लहर फैलिएका बेला अहिले नेपालमा सङ्क्रमितको सङ्ख्या बढिरहेको छ। अहिले देशभरि ९० हजारभन्दा बढी सक्रिय सङ्क्रमित छन्।
विगत दुई सातादेखि दैनिक हजारौँको सङ्ख्यामा सङ्क्रमितहरू फेला परिरहेका छन् भने रुघाखोकी र टाउको दुख्ने जस्ता सामान्य लक्षण भएका ठूलो सङ्ख्यामा मानिसहरू परीक्षण गराउन गएका छैनन्।
सरकारी अधिकारीहरूका अनुसार नेपालमा थपिएका अधिकांश सङ्क्रमितमा कोरोना भाइरसको नयाँ भेरिअन्ट ओमिक्रोन पाइएको छ। यो भेरिअन्ट ‘अत्यन्त सङ्क्रामक’ रहे पनि यस अघिका भेरिअन्टभन्दा ओमिक्रोन’तुलनात्मक रूपमा कमजोरू रहेको विवरणहरू सार्वजनिक भएका छन्।
यस्तो अवस्थामा सङ्क्रमण पुष्टि भएर वा सङ्क्रमितको संसर्गमा पुगी उस्तै लक्षण देखिएर घरमै आराम गरिरहेका मानिसमा आइसोलेशन अर्थात् अरूबाट एक्लिएर बस्ने अवधिबारे फरकफरक बुझाइ रहेको पाइन्छ।
आइसोलेशनमा कति दिन बस्नुपर्छ ?
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अधिकारीहरूका अनुसार विगतमा नेपालमा १० दिन एकान्तवास बस्नुपर्ने प्रावधान रहे पनि ओमिक्रोनसम्बन्धी अध्ययनका प्रमाणमा आधारित रहेर त्यो अवधि सात दिनमा झारिएको छ।
‘ओमिक्रोन भेरिअन्ट सँगसँगैको अध्ययन अनुसन्धानबाट आएका प्रमाणका आधारमा विज्ञहरूको सुझावअनुसार हामीले यो समयावधि घटाएर सात दिन बनाएका छौँ,’ केही अघि मन्त्रालयका प्रवक्ता डा। समिरकुमार अधिकारीले बीबीसीसँग भनेका थिए।
कोभिड -१९ विरुद्ध खोप लगाएका कारण ओमिक्रोन भेरिअन्टको सङ्क्रमणको चक्र र यसले पार्न सक्ने जोखिम हेर्दा ‘सात दिनपछि सक्रिय भाइरस नरहनेू र अरू व्यक्तिलाई सङ्क्रमण ‘सार्ने सम्भावना नरहनेू हुँदा सात दिन आइसोलेशन समयावधि बनाइएको सरकारी भनाइ छ।
‘तर कसैमा ज्वरो, खोकी वा सास फेर्ने गाह्रो हुने जस्ता कोभिडका देखिने लक्षण छन् भने लक्षण होउन्जेल शरीरमा सक्रिय भाइरस हुन्छ र त्यो भाइरसले अरूलाई सङ्क्रमण गराउन सक्ने हुँदा लक्षण हुँदासम्म समयको कुरा रहँदैन,’ डा. अधिकारीले भने।
‘लक्षण हराएको थप तीन दिनसम्म आइसोलेशनमा बस्नुपर्छ। त्यस्तो गर्दा अरू व्यक्तिलाई सङ्क्रमण सर्ने सम्भावना कम हुन्छ।’
अमेरिका र इङ्ग्ल्यान्डसहित केही देशमा पाँच दिन एकान्तवास गर्नुपर्ने नियम लागु गरिएको छ।

