शिक्षक आन्दोलनका कारण बैंकको किस्ता समेत तिर्न सकिएन, अब प्रतिकारमा उत्रन्छाैंः यातायात व्यवसायी


काठमाडौं — विगत १९ दिनदेखि लगातार चलिरहेको शिक्षक आन्दोलनका कारण सर्वसाधारणसँगै यातायात व्यवसायी मारमा परेका छन् ।

शिक्षक आन्दोलनले माइतीघर–बानेश्वर सडक दिनहुँ अवरुद्ध हुन थालेपछि यातायात व्यवसायीले प्रतिकार गर्ने तयारी गरेका छन् । सार्वजनिक यातायात केन्द्रीय महासंघका महासचिव भरत नेपालले आन्दोलनका नाममा दिनहुँ सडक बन्द गराएपछि अब आफूहरू पनि प्रदर्शनको तयारीमा जुटेको बताए ।

‘शिक्षक आन्दोलनका नाममा सडक बन्द गर्न पाइँदैन । शिक्षकहरूको माग के हो ? सरकारले पूरा गर्नुपर्‍यो । यसका नाममा आमसडक प्रयोगकर्ताको अधिकार खोसिनुभएन । यसरी सडक अवरुद्ध हुनुभएन,’ उनले भने ।

देशभरका शिक्षक गएको चैत २० गतेदेखि दैनिकरूपमा माइतीघर–बानेश्वर क्षेत्र केन्द्रित आन्दोलनमा छन् । शिक्षक आन्दोलनकै कारण काठमाडौंको ट्राफिक व्यवस्थापन दैनिक अस्तव्यस्त बनेको मात्र नभई व्यवसायीहरुले गाडी चलाउन नपाएपछि बैंक किस्ता, कर तथा राजस्व, बिमा, कर्मचारी, मजदुरको व्यवस्थापन समस्या देखिरहेको छ ।

सडकमा हुने बन्द, हडताल, भेला, सभा, जुलुस, धर्ना, आन्दोलन, हुलहुज्जत र बाटो अवरोधजस्ता कार्यले सबै क्षेत्र तथा सर्वसाधारणमा नकारात्मक असर परेकाले तत्काल यस्ता गतिविधि रोक्नुपर्ने माग महासंघको छ ।

प्रतिक्रिया