

शिक्षकहरूको आन्दोलनमा घुसपैठ

काठमाडौं- शिक्षकहरूको आन्दोलनमा घुसपैठ गरी नाराबाजी गर्ने एक व्यक्ति पक्राउ परेका छन् ।
माइतीघर मण्डलादेखि बानेश्वरसम्मको प्रदर्शनका क्रममा शिक्षकहरूविरुद्ध नाराबाजी गरिरहेका ती व्यक्तिलाई आन्दोलनरत शिक्षकहरूले नियन्त्रणमा लिएका थिए। त्यसपछि उनीहरूकै रोहबरमा प्रहरीले पक्राउ गरेको हो ।
नेपाल शिक्षक महासंघका अनुसार ती व्यक्तिले पटकपटक शिक्षकविरुद्ध उत्तेजक नाराबाजी गरेपछि उनीमाथि शिक्षकहरूले घेरा हालेर नियन्त्रणमा लिएका थिए । केही आक्रोशित शिक्षकहरूले उनलाई लछारपछार गर्दै कुटपिटसमेत गरेको दृश्य देखिएको थियो ।
कुटपिटका क्रममा ती व्यक्तिको लुगा च्यातिएको थियो भने प्रहरीले नियन्त्रणमा लिएपछि पनि उनी शिक्षकहरूलाई झम्टिन खोजेका थिए । प्रारम्भिक जानकारीअनुसार उनी ‘छोरी भर्ना गर्न पाइएन’ भन्दै अभिभावकको रूपमा आन्दोलनस्थलमा प्रवेश गरेका थिए ।

