
विप्रेषण आम्दानीमा अत्यधिक निर्भर हुँदा कसरी हुन्छ अर्थतन्त्र अस्थिर ?
काठमाडौं – कोभिड महामारीका कारण विदेश गएका नेपालीहरू फर्किने क्रम पनि घटबढ भइरहेको छ
करिब डेढ दशकयता नेपाली अर्थतन्त्रको मेरुदण्ड बन्दै आएको रेमिट्यान्स अर्थात् विप्रेषण आम्दानीमा अझै पनि अत्यधिक निर्भर भइरहँदा अन्य क्षेत्र विकास हुन नसकेको कतिपय अर्थविद्हरूले चेतावनी दिँदै आएका छन्।
गत केही महिनाका आर्थिक तथ्याङ्क हेर्दा अब त्यसले भविष्यमा पार्न सक्ने समस्याका सङ्केत पनि देखिने उनीहरू बताउँछन्।
लगातार बढिरहेको रेमिट्यान्स आम्दानी केही महिनायता अलि खुम्चिएको छ। कोभिड महामारीका कारण विदेश जाने र आउने कामदारहरूको सङ्ख्यामा निकै तलमाथि भइरहेका पनि छन्।
हुन त त्यो अल्पकालीन ह्रास मात्र हुनसक्छ तर त्यसले केही महिनामै समष्टिगत अर्थतन्त्रका महत्त्वपूर्ण सूचकहरू धरमराउन थालिसकेका छन्।
गत वर्ष महामारीकै बीच पनि नेपालले कीर्तिमान हुने परिमाणमा विप्रेषण आम्दानी गर्यो। असारमा सकिएको उक्त आर्थिक वर्षमा नेपालले ९६१ अर्ब रुपैयाँ विप्रेषण आम्दानी गरेको थियो।
सोही वर्ष देशको कुल राजस्व विप्रेषण आम्दानीकै हाराहारीमा ९७८ अर्ब रुपैयाँ रह्यो भने कुल आयात १५३९ अर्ब रुपैयाँ रह्यो। झन्डै १४०० अर्ब रुपैयाँ बराबरको विदेशी विनिमय सञ्चिति त्यतिखेर रहेको थियो भने शोधनान्तर स्थिति वा भुक्तानी सन्तुलन पनि सवा एक अर्बले नाफामा थियो।
तर साउनयता यो आर्थिक वर्षको पहिलो पाँच महिनाको तस्बिर भने निकै बेग्लै देखिएको छ। गत वर्षको सोही अवधिको तुलनामा यो पाँच महिनामा विप्रेषण आम्दानी ६।८५ ले घटेर ३८८ अर्बमा झर्यो।
अनि यही अवधिमा देशमा भित्रिने र बाहिरिने भुक्तानी को सन्तुलन झन्डै २०० अर्बले घाटामा छ भने विदेशी विनिमयको सञ्चिति झरेर १,२१४ अर्ब पुगेको छ। यही समयमा आयात भने बढेर ८३८ अर्ब पुगिसकेको छ।
यी सूचकहरू धरमराउनुमा प्रत्यक्ष तथा परोक्ष रूपमा एक प्रमुख कारक विप्रेषण आम्दानीमा देखिएको शिथिलता रहेको कतिपय अर्थविद्हरूले बताउँदै आएका छन्



कागजपत्र |
