
सरकारमाथि निगरानी बढाउन कांग्रेसका मन्त्रालयगत संयोजक सक्रिय
काठमाडौं- सरकारका कामकारबाहीमाथि प्रभावकारी निगरानी राख्ने र संसदमा आफ्नो भूमिकालाई थप सशक्त बनाउने उद्देश्यसहित नेपाली कांग्रेसका मन्त्रालयगत संयोजकहरूको बैठक आइतबार सम्पन्न भएको छ।
सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसेको बैठक संसदीय दलका नेता भीष्मराज आङ्देम्बेको अध्यक्षतामा सम्पन्न भएको हो। बैठकमा विभिन्न मन्त्रालयको जिम्मेवारी पाएका सांसदहरूले सरकारका गतिविधि, मन्त्रालयहरूको कार्यसम्पादन तथा जनसरोकारका विषयमा धारणा राखेका थिए।
बैठकमा मन्त्रिपरिषद्का निर्णय तथा सरकारका कामकारबाहीको नियमित अनुगमन गर्ने, मन्त्रालयगत गतिविधिको अध्ययन–विश्लेषण गर्ने र आवश्यक विषयहरू संसदमा प्रभावकारी रूपमा उठाउनेबारे छलफल भएको बताइएको छ।
त्यस्तै, राष्ट्रिय महत्वका विषयमा पार्टीको धारणा निर्माणका लागि सुझाव दिने, जनताका गुनासा तथा समस्यालाई सम्बन्धित निकायसम्म पुर्याउने तथा सरकारलाई थप जवाफदेही बनाउन सक्रिय भूमिका खेल्ने निर्णय पनि बैठकले गरेको छ।
बैठकले मन्त्रालयगत जिम्मेवारी पाएका संयोजकहरूको बैठक प्रत्येक महिना कम्तीमा एकपटक अनिवार्य रूपमा बस्ने निर्णय गरेको छ। आवश्यकता अनुसार जुनसुकै समयमा पनि बैठक बोलाउन सकिने व्यवस्था गरिएको छ।
कांग्रेसले मन्त्रालयगत संयोजकहरूको सक्रियता बढाएर सरकारका कामको प्रभावकारी अनुगमन गर्ने तथा संसदमा रचनात्मक र सशक्त प्रतिपक्षी भूमिका निर्वाह गर्ने रणनीति अघि बढाएको जनाएको छ।



कागजपत्र |
