
गायिका समीक्षा अधिकारीको यस्तो चेतावनी कसलाई ?
काठमाडौँ – गायिका समीक्षा अधिकारीले नारीलाई कमजोर नठान्न चेतावनी दिएकी छन्। गायिका अधिकारीले सोमबार सामाजिक सञ्जालमार्फत कसैले नारीको विश्वसा र भावनामा खेलबाड गर्यो भने उसले दुःखद परिणाम भोग्नुपर्ने चेतावनी दिएकी हुन्।
नारी भनेका दुर्गा देवीका रूपमा माया–ममता पनि दिन पनि सक्ने र अन्याय भएमा महाकाली बनेर पीडकको सर्वनास पनि गर्न सक्ने आक्रोश उनले व्यक्त गरेकी छन्।
‘यदि कसैले नारीलाई कमजोर सोचेर उसको विश्वास र भावनामाथि खेल्यो भने उसले नारीको शक्तिको सामना गर्न सक्दैन, त्यसैले नारीलाई कमजोर नसोच्दा पनि हुन्छ’, उनले लेखेकी छन्, ‘नारी दुर्गाको रूपमा माया ममता दिन सक्छिन् भने परेको खण्डमा महाकालीजस्तो रूप लिएर सर्वनास पनि गर्न सक्छिन्।’
केही समयअगाडिसम्म अभिनेता पल शाहसँग जोडिएर उनका बारेमा विभिन्न खबर सार्वजनिक भए पनि हाल यो क्रम रोकिइसकेको अवस्थामा गायिका समीक्षाले उक्त चेतावनी कसलाई दिएकी हुन्, खुलाएकी छैनन्।
बरु यसअगाडि उनले पलसँग जोडेर एकोहोरो समाचार आउन थालेपछि उनले फेसबुकमार्फत पल र आफूबीच कुनै अन्तरंग सम्बन्ध नरहेको बताएकी थिइन्। र, बिनाआधार समाचार नलेख्न सञ्चारमाध्यमसँग आग्रह गरेकी थिइन्। त्यसयता त्यस्तो समाचार आउन छाडेको छ।
तर अहिले उनले फेरि नारीलाई कमजोर नठान्न भनेर कसलाई चेतावनी दिएकी हुन् त ? अनेक अड्कलबाजी सुरु हुन थालेका छन्। कतिले यो चेतावनी पलसँग जोडेर समाचार लेख्नेलाई भनिएको हुन सक्छ भन्ने अनुमान गरेका छन् भने कतिले यो चेतावनी कतै पल शाहलाई नै त होइन भन्ने आशंका पनि गरेका छन्।
वास्तविकता भने गायिका समीक्षालाई नै थाहा होला।



कागजपत्र |
