

कोरोना नियन्त्रणका लागि लुम्बिनीले संघ सरकारसँग माग्यो १० करोड

काठमाडौँ – लुम्बिनी प्रदेश सरकारले कोभिड खर्च व्यवस्थापनका लागि भन्दै संघीय सरकारसँग १० करोड रुपैयाँ माग गरेको छ। मुख्यमन्त्री कुलप्रसाद केसीले कोभिड नियन्त्रणका लागि बजेट तथा सामग्री अभाव भएको भन्दै प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष बजेटको व्यवस्था गरिदिन आग्रह गरेका हुन्।
सोमबार प्रधानमन्त्री देउवालगायत संघीय सरोकारवाला निकायसँग भर्चुअल माध्यममा छलफल गर्दै मुख्यमन्त्री केसीले यस्तो आग्रह गरेका हुन्। कोभिड नियन्त्रणको लागि लुम्बिनी प्रदेश सरकारले जनउत्तरदायी भई काम गरिरहेको उनको भनाइ थियो।
दोस्रो चरणको कोभिड खर्च व्यवस्थापनका लागि संघीय सरकारले १० करोड श्रोत भर्ना गरिदिन मुख्यमन्त्री केसीले प्रधानमन्त्री देउवासँग आग्रह गरेका छन्।
‘नागरिकको जीवन रक्षा र कोरोना नियन्त्रणका लागि प्रदेश सरकार हरक्षण सक्रिय छ,’ मुख्यमन्त्री केसीले भने, ‘तर कोभिड नियन्त्रण गर्न प्रदेशको बजेटले मात्रै नपुग्ने भएकारको पनि सहयोग जरुरी छ। सबै सरोकारवाला निकायको सहभागितामा प्रदेश सरकार जनताको जीवन रक्षा गर्न प्रतिवद्ध छ।’
मुख्यमन्त्री केसीले कोरोना नियन्त्रणका लागि बेलहिया, कृष्ण नगर र नेपालगञ्जमा होल्डिङ सेन्टर स्थापना गरी महामारी रोकथाम अभियान अगाडि बढाउन प्रदेश सरकारले आवश्यक तयारी गरिरहेको बताए।

