१५ माघमा अवकाश पाउँदै थिए एसएसपी सुशील यादव!

चार घण्टाअघि श्रीमतीको फेसुबक स्ट्याटस– ‘युग कलियुग भएपनि सत्यकै जित हुन्छ’


काठमाडौं – नेपाल प्रहरीका बरिष्ठ उपरीक्षक (एसएसपी) सुशील कुमार यादवले सरकारी निवास अर्थात आफ्नै क्वार्टरमा आत्महत्या गरेका छन्। शुक्रबार दिउँसो यादव मृत भेटिएका हुन्।

संघीय प्रहरी इकाइ कार्यालय रुपन्देही, भैरहवाका प्रमुखसमेत रहेका एसएसपी यादवले सरकारी निवासमै झुन्डिएर आत्महत्या गरेका हुन्। यादवले आत्महत्या गरेको प्रहरीका प्रवक्ता एसएसपी वसन्त कुँवरले पुष्टि गरे।

एसएसपी जस्तो उच्च प्रहरी अधिकृतले किन आत्महत्या गरे? गम्भीर चासोको विषय हो। यादव डिप्रेशनका बिरामी रहेको बताइएपनि उनको मृत्युबारे अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ।

यादवले एक महिनापछि अवकाश पाउँदै थिए
मृत भेटिएका एसएसपी यादवको घर पश्चिम नवलपरासी हो।

मृत भेटिएका एसएसपी यादवले उमेरहदका कारण सेवाबाट एक महिनापछि अवकाश पाउँदै थिए। १५ माघ २०७८ मा उमेरहदका कारण घर जाँदै थिए यादव।

नेपाल प्रहरीमा एसएसपीको उमेरहद ५५ वर्ष छ। ५५ बर्षसम्म बढुवा नभएमा अवकाश हुने प्रावधान रहेकाले उनी ५५ बर्ष नाघेकै कारण एसएसपीबाटै अवकाश हुँदै थिए।

उनी प्रहरी नायब महानिरीक्षक (डिआईजी) बढुवाका दाबेदार थिए। हालका प्रहरी महानिरीक्षक (आईजी) शैलेश थापा क्षेत्रीका वैकल्पिक हुन् यादव। प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)द्वय विश्वराज पोखरेल र सहकुल थापाका ब्याची समेत हुन् यादव।

आफ्ना ब्याचमेटहरु प्रमोशनमा अघि परिसकेको हुँदा आफू एसएसपीमै अवकाश हुने अवस्थाले पनि उनमा निराशा पैदा भएको हुनसक्ने अनुमान गरिएको छ।

यता यादवकी श्रीमती रुपम कुमारी यादवले ४ घण्टाअघि फेसबुकमा समेत एक स्ट्याटस लेख्दै ‘युग कलियुग भएपनि सत्यकै जित’ हुने दावी गरेकी छन्।

उनले फेसबुकमा लेखेकी छन्, ‘युग कलियुग भएपनि…. तर सत्यको जित हुन्छ।’ उनले स्ट्यास राखेको ४ घण्टा बितिसकेको छ। तर यादवको मृत्यु भएको खबर केही समयअघि मात्र सार्वजनिक भएको हो।

प्रतिक्रिया