कैलालीमा युवकको विभत्स हत्याः रुखमा बाँधेर घाँटी रेटियो, हत्यापछिको फोन रेकर्ड सार्वजनिक


काठमाडौं – कैलालीका भुपेन्द्र बडुवालको हत्या प्रकरण सेलाउन नपाउँदै अर्का एक युवकको विभत्स हत्या भएको छ। गत २३ कात्तिकमा टिकापुर लम्कीका युवक बडुवालको हत्या भएको घटना सुल्झिन नपाउँदै फेरि हत्याको घटना सार्वजनिक भएको हो।

शनिबार विभत्स तरिकाले हत्या गरिएको अवस्थामा कैलालीको जानकी गाउँपालिका–९ का २५ वर्षीय अरुण दासको शव फेला परेको छ। अमरावती सामुदायिक वनमा घाँटी रेटर टाउको र शरीर अलग पारिएको अवस्थामा दासको शव फेला परेको हो।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी उपरीक्षक (एसपी) विश्व अधिकारीका अनुसार जंगलमा घाँटी रेटेको अवस्थामा दासको शव अलग–अलग फेला परेको हो। ‘रुखमा बाँधेर नग्न बनाउदै घाँटी रेटर हत्या गरेको देखिन्छ,’ एसपी अधिकारीले भने।

घटनाको अनुुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय, सुदूरपश्चिम प्रदेश अनुुुसन्धान समूह (आरआइटी) को टोली तालिम प्राप्त कुुकरसहित परिचालन भएको छ। जिल्ला प्रहरी कार्यालय कैलालीले घटनाबारे केही क्लू फेला परेको र अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।

शनिबार बिहान घरबाट निस्किएका दास दिउँसो करीब पौने ४ बजेको समयमा मृत अवस्थामा भेटिएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। परिवारका सदस्यले दिएको जानकारी अनुसार उनी शनिबार विहान मात्रै साथीसँग जान्छु भनेर घरबाट निस्केका थिए।

हत्यापछि दुई युवकको वार्तालाप अडिओ सार्वजनिक
दासको विभत्स हत्यापछिको दुई युवाबीच भएको फोन रेकर्ड बाहिरिएको छ। हत्यापछि दुई युवाबीच भएको फोन रेकर्ड बाहिरिएसँग्ै उनीहरुले नै हत्या गरेको अनुमान गर्न सकिन्छ।

फोन रेकर्डमा आफूलाई मनोज भनेर परिचय गराएका युवकले एकजनाको घाँटी रेटेर टाउको छिनालिदिइको बताएका छन्। मनोजले फोन रेडर्कमा भनेका छन्, ‘घाँटी र शरीर अलग–अलग छ। तपाईले एक/दुई दिनमा थाहा पाउनुहुन्छ।’

दासको हत्या संलग्न व्यक्ति भारत फरार भइसकेको बुझिन्छ। मनोजले नेपालगञ्जको रुपडिया नाका हुँदै भारत गइरहेको पनि फोनमा भनेका छन्।

यद्यपी, ती दुई युवाहरु को हुन् प्रहरीले केही खुलाएको छैन। उनीहरु परिचय समेत प्रहरीले गोप्य राखेको छ। ती मनोज भन्ने व्यक्ति बोल्दा ब्याकग्राउण्डमा अरुको स्वर पनि सुनिन्छ ।

‘हत्यापछिको अडियो रेकर्ड हामीले पाएका छौं,’ एसपी अधिकारीले भने, ‘घटनाको अनुसन्धान भइरहेको छ। शंकास्पद व्यक्ति उपर अनुसन्धान बढाएका छौँ। डग स्निफिङ पनि गराइएको छ।’ सम्भवतः दासको हत्यामा संलग्न व्यक्ति छिट्टै कानुनको दायरामा आउने अधिकारीले विश्वास व्यक्त गरे।

दासको विभत्स ढंगले हत्या भएपछि उनका बुबा, आमा र दाई नेपाल आएका छन्। मृतक दासका बुवा, आमा र दाई भारतमा रोजगारीको लागि बस्दै आएका थिए। गाउँमा उनका श्रीमती, छोरी र भाउजु बस्दै आएका थिए। दास भने नेपाल–भारत गरिरहन्थे।

अनुसन्धानमा संलग्न एक स्थानीय प्रहरी अधिकारीका अनुसार लागूऔषधको विषयमा भएको विवादले दासको विभत्स हत्या भएको हुनसक्छ। कैलालीको अधिकांश क्षेत्र लागूऔषधको अखडा हो।

घटनास्थलमा चुरोटका ठुटा र प्याकेटहरु भेटिएका छन्। दास हत्या प्रकरण लम्कीका भुपेन्द्र बडुवालको हत्या जस्तो संगठित अपराधीले गरेका हुन् वा लागूऔषध प्रयोगकर्ताले गरेका हुन् त्यसका बारेमा पनि प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ।

दासको शव आफन्तलाई जिम्मा लगाइसकिएको छ।

प्रतिक्रिया