अरुण दास हत्या प्रकरणः अभियुक्त खोज्न प्रहरी टोली भारतमा


दासको शव फेला परेको स्थान।

काठमाडौं – कैलालीको जानकी गाउँपालिका–९ का २५ वर्षीय अरुण दासको हत्यामा संलग्न अभियुक्तहरुलाई खोज्न जिल्ला प्रहरी कार्यालय कैलालीको टोली भारत पुगेको छ।

प्रहरी सहायक निरीक्षक (सई) को कमाण्डमा प्रहरी टोली मंगलबार भारत गएको कैलाली प्रहरीले जनाएको छ। सईको कमाण्डमा ७ जना प्रहरी रहेका छन्।

गत शनिबार विभत्स तरिकाले हत्या गरिएको अवस्थामा दासको शव अमरावती सामुदायिक वनमा घाँटी रेटेर टाउको र शरीर अलग पारिएको अवस्थामा फेला परेको थियो।

दासको हत्यामा संलग्न एकजना व्यक्तिलाई कैलाली प्रहरीले पक्राउ गरिसकेको छ भने घटनामा संलग्न अन्य ६÷७ जना फरार रहेको प्रहरीले जनाएको छ।

फरार व्यक्तिहरुको पहिचान खुलेपनि भारतमा लुकेर बसेको प्रहरीको दाबी छ। दासको विभत्स हत्यापछिको दुई युवाबीच भएको फोन रेकर्ड सार्वजनिक भएको छ।

दुई युवाबीच भएको फोन रेकर्ड बाहिरिएसँगै उनीहरुले नै हत्या गरेको अनुमान गर्न सकिन्छ। अडिओमा आफूलाई मनोज भनेर परिचय गराएका युवकले एकजनाको घाँटी रेटेर टाउको छिनालिदिइको बताएका छन्।

मनोजले फोन रेडर्कमा अर्का युवकलाई भनेका छन्, ‘घाँटी र शरीर अलग–अलग छ। तपाईले एक–दुई दिनमा थाहा पाउनुहुन्छ।’ यद्यपी, ती अडिओमा बोल्ने दुई युवाहरु को हुन् प्रहरीले केही खुलाएको छैन।

उनीहरु परिचय समेत प्रहरीले गोप्य राखेको छ। ती मनोज भन्ने व्यक्ति बोल्दा ब्याकग्राउण्डमा अरुको स्वर पनि सुनिन्छ। सम्भवतः दासको हत्यामा संलग्न व्यक्ति छिट्टै कानुनको दायरामा आउने कैलाली प्रहरीको दाबी छ।

घटनाको अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय, सुदूरपश्चिम प्रदेश अनुसन्धान समूह (आरआइटी) को टोली तालिम प्राप्त कुकुरसहित परिचालन भएको छ।

प्रतिक्रिया