कैलालीमा युवकको विभत्स हत्याः शंकास्पद एकजना पक्राउ


काठमाडौं – प्रहरीले कैलालीको जानकी गाउँपालिका–९ का २५ वर्षीय युवक अरुण दासको बीभत्स हत्या आशंकामा एक जनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार दास हत्याको घटनामा संलग्नताको आशंकामा लम्की टीकापुर क्षेत्रबाट आइतबार बेलुका एक जनालाई नियन्त्रणमा लिइएको छ।

शंकास्पद उनीमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। अनुसन्धानकै क्रममा रहेकाले प्रहरीले उनको पहिचान खुलाएको छैन।

शनिवार जानकी गाउँपालिका–९ को अमरावती सामुदायिक वनमा दासको बीभत्स तरिकाले हत्या गरिएको अवस्थामा शव भेटिएको थियो।

दासको हत्यापछि दुई युवाबीच भएको फोन रेकर्ड बाहिरिएपछि फोनमा भएको कुराकानीको आधारमा प्रहरीले अनुसन्धान अगाडि बढाएको छ। उक्त फोन रेकर्ड मृतकी श्रीमतीबाट बरामद भएको प्रहरी स्रोतले जनाएको छ।

मृतकी श्रीमतीलाई फोन रेकर्ड पठाउने व्यक्ति र फोनमा कुराकानी गर्ने व्यक्तिको खोजी सुरु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। फोन रेकर्डमा आफूलाई मनोज भनेर परिचय गराएका युवकले एकजनाको घाँटी रेटेर टाउको छिनालिएको बताएका छन्।

प्रतिक्रिया