
स्तनक्यान्सर पीडित युवतीको दर्दनाक कथाः भेट्न बोलाएर जबरजस्तीकरणी प्रयास ! (अडिओ)
डिएसपीले फर्काइदिए, प्रमाणसहित आएमा जाहेरी दर्ता हुन्छः एसएसपी पोखरेल
काठमाडौं – २७ कात्तिकको दिउँसो मुकेश पाण्डेको फोन आयो। ललितपुरको नखिपोटमा आमा र भाइसँगै बस्दै आएकी नाम परिवर्तन (आरती) लाई जावालाखेल क्याफेमा भेट्न बोलाए।
मुकेशको वचन काट्न सकिनन्। आमालाई सोधेर घरबाट निस्किएकी आरती केहीबेरमा जावालाखेल पुगिन्। जावालाखेलमा मुकेशसँग आरतीको भेट भयो। मुकेशको स्थायी घर मकवानपुर हेटौडा हो।
कामको सिलसिलामा मुकेशसँग नजिक भएकी आरतीलाई के थाहा, त्यो लिन आफ्नो लागि कालो दिन हो! आरतीको मन जितेर नै मुकेशले उनलाई भेट्ने बहानामा बोलाएका थिए। त्यहि भएर आरती मुकेशले जे भन्यो त्यहि मान्थिन्।
क्याफेमा भेट्न बोलाएका आरतीलाई मुकेशले त्यसपछि सिधै आफ्नो साथीको कोठामा लगे। त्यतिबेलासम्म पनि आरतीलाई मुकेशप्रति विश्वास थियो। त्यहि भएर उनी मुकेशसँग कोठामा गइन्।
मुकेश र आरती कोठाभित्र प्रवेश गर्नासाथ साथी बाहिरिए। त्यसपछि आरतीलाई शंका लाग्यो। उनको मन चिसो भयो। अर्कै कुरा सोच्न थालिन्। त्यसपछि आरतीले मुकेशलाई सोधिन्, ‘किन साथीलाई बाहिर पठाएको?’ त्यतिबेलासम्म मुकेशले भित्रबाट चुकुल पनि लगाइसकेका थिए।
चुकुल लगाएको देखेपछि आरती झनै आत्तिइन्। उनी के गरौं कसो गरौं भइन्। मोबाइलमा फोन गर्न खोज्दा मुकेशले खोसेर लुकाइदिए। मुकेशको त्यस्तो व्यवहार देखेपछि आक्रोशित आरतीले सोधिन्, ‘तिमीले मलाई कुराकानीको लागि लिएर आएका थियौ। तर ढोका किन बन्द गरेको? मलाई तिमीसँग कुराकानी गर्नु छैन। म निस्किन्छु छोड।’
यति के भनेकी थिइन्, जंगलमा सिकार खोज्न निस्केको सिंहजस्तो मुकेश आरतीलाई झम्टिए। आरतीले लगाएको टिसर्ट च्यातिदिए। भित्री अंगहरुमा हात पुर्याउन थाले। लगाएको पाइन्टको टाँक खोले। मुकेशको जंगली व्यवहार देखेर आरतीले प्रतिरोध गरिरहेकी थिइन्।
आरती सानैमा स्तन क्यान्सको बिरामी हुन्। ७ कक्षामा पढ्दै गर्दा परिवारले ऋण गरेरै उनको स्तन क्यान्सरको अपरेशन गरेको थियो। तर, बल्झिरहने घाउले उनलाई असाध्यै पीडा दिइरहन्थ्यो। त्यसैले उनको छाला एकदमै सेन्सेटिभ भएकाले छुँदा, तान्दा, जबरजस्ती गर्न खोज्दा शरीरका विभिन्न भागहरुमा चोट लाग्यो।
त्यतिबेला दुखाईको महसुस नगरी आरती कोठामाबाट जसरी नि बाहिरिनु थियो। करिब १० मिनेटपछिको ठेलमेलपछि मुकेशलाई धकेलेर आरती चिच्याउँदै बाहिर निस्किन्। च्यातिएको कपडाको हुलियामा बाहिर निस्किँदा उनलाई देख्ने सबैले मानसिक रोगी भन्थे।
मानसिक रोगीको जस्तो हालत देखाउँदै आरती त्यहाँबाट सिधै आफ्नो कोठामा पुगिन्। जतिबेला घरमा आरतीको आमा थिइनन्। उनकी आमा नखिपोटकै एक खाजा पसलमा काम गर्थिन्। त्यहिँबाट आएको पैसाले उनीहरुको गुजारा चलिरहेको थियो।
साँझपख आमा घरमा आइन्। तर, पनि उनले आफूमाथि मुकेशले गरेको ज्यादतीविरुद्ध केही भन्न सकिनन्। न तत्काल कानुनी प्रतिरोधमा नै जान सकिन्। बरु, मुकेशको नम्बर र सामाजिक सञ्जालको साथीबाट हटाइन्। तर, दिउँसोको त्यो घटनाले उनलाई मानसिक तनाव मात्र दिन दिन्थ्यो। दिन बित्दै गयो।
१२ कक्षामा अध्ययनरत आरतीलाई मुकेशले केही हप्तापछि आँफै फोन गरे। ‘म तिमीसँग माफी माग्छु। तिमीले कुरा बुझेउ भने ठिकै छ नत्र तिम्रो फोटो सार्वजनिक गरेर बबाल गर्छु। तिम्रो घर नै पत्ता लगाएर मैले के गर्नपर्छ बुझ’ मुकेशको धम्की आयो।
तर उनले केही प्रतिक्रिया दिइनन्। फेरी ‘तिमीले म सँग एकपटक भेटेर कुराकानी गर्नुपर्छ, मलाई भेट। एकजना मान्छेले, ‘तिमी त्यस्तै केटी हो, मैले त्यो सँग शारीरिक सम्बन्ध राखिसकेको छु। तिमी पनि प्रयास गर’ भनेको कारण नै मैले त्यस्तो गर्न पुगें,’ मुकेशले फकाउन थाले।
मुकेशले आरतीलाई फोन गरेको अडिओ सुन्नुहोस्
त्यसको केहीदिन आरती चुपचाप बसिरहिन्। माफीको बहानामा आफूलाई धम्क्याएको बुझेकी आरतीले अब कानुनी बाटो अपनाउने उपाय सोचिसकेकी थिइन्। घटनाबारे आमालाई समेत भन्न तयार भएकी थिइन्।
तर, अचानक एकदिन मुकेशले अर्कै नम्बरबाट फोन गरेर ‘यो घटनाबारे मेरी श्रीमतीलाई समेत थाहा भएछ। तिम्रो कारण मेरो श्रीमतीले छाडेर गइन्। मेरो घर बर्बाद भयो। अब म सँग विवाह गर्नपर्छ। नत्र परिणाम राम्रो हुँदैन,’ मुकेशले धम्की दिए।
मुकेशले ललितपुरको पोडे टोलकै एक युवतीसँग केही वर्षअघि विवाह गरेका थिए। उनको एक सन्तान रहेको पाइएको छ।
नयाँ नयाँ नम्बरबाट फोन गरेर धम्काउन थालेपछि आरतीले आफूमाथि भएको ज्यादतीबारे आमालाई सुनाइन्। तर, उनको पीडामा आमाले समेत साथ दिइनन्। जन्म दिने आमाले समेत आरतीको पीडा नसुनिदिएपछि उनले न्यायको ढोका ढक्ढक्याउन प्रहरी कार्यालय जाने निधो गरिन्।
एकजना महिला उद्यमीको साथ मुकेशविरुद्ध जाहेरी दिन प्रमाणको रुपमा लागेका चोट, च्यातिएका कपडाहरु, भ्वाइस रेकर्ड बोकेर आरती महानगरीय प्रहरी कार्यालय, जावालाखेल पुगिन्। तर, प्रहरीले उनको जाहेरी लिन मानेन।
प्रहरीबाट सहयोग नपाएपछि उनी हरेकदिन सोही दिनको घटनालाई सम्झेर डराइरहेकी हुन्छिन्। परिसरका प्रहरी नायब उपरीक्षक (डिएसपी) दीपक भारतीले जाहेरी लिन नमिल्ने बताइदिएको आरतीको भनाइ छ। जतिबेला आरतीको केस भारतीले हेरेका थिए।
जाहेरी दिन जाँदा घटनाबारे प्रहरीले आफ्नो बयान त लियो तर, कागजमा उतार्दा भनेको भन्दा उल्टो लेखेको आरतीको आरोप छ। उनले अनलाइनन्युज७ सँगको कुराकानीमा भनिन्, ‘सबै प्रमाण सुनाउँदा पनि प्रहरीले सामान्य झगडा भनेर बयानको कागजमा लेखेको छ। त्यसैले प्रहरीले तयार पारेको रिपोर्टमा समेत हस्ताक्षर गर्न नमानेको आरतीले सुनाइन्।
जबरजस्ती करणी जस्तो गम्भीर अपराधमा किन प्रहरीले उदासिनता देखायो? अन्यायमा परेकालाई न्या दिलाउन पहल गर्नुपर्ने प्रहरी संगठन आरतीको मुद्दामा किन चलखेल गरिरहेको छ? के आरतीको पीडा एउटा काल्पनिक कथा जस्तो हो?
आरती भन्छिन्, ‘मेरो मुद्दालाई प्रहरीले सामान्य रुपमा लियो। त्यसैले मैले प्रहरीले लेखेको बयानमा हस्ताक्षर गरिन। मलाई लागेको थियो प्रहरीले अन्यायमा परेकालाई न्याय दिलाउन पहल गर्छ। तर, मैले गलत सोचेको रहेछु। त्यहि भएर दोषीलाई छुटाउन चलखेल गरेको छ।’
आरतीमाथि त्यति ठूलो ज्यादतीलाई प्रहरीले किन मजाक बनाएको छ? यस विषयमा महानगरीय प्रहरी परिसर ललितपुरका प्रहरी प्रमुख प्रहरी बरिष्ठ उपरक्षिक (एसएसपी) यज्ञविनोद पोखरेलले प्रमाणसहित जाहेरी आएमा आफूले अनुसन्धान गर्ने बताए।
‘म ललितपुरमा हाजिर भएपछि उनी (आरती) आउनुभएको थियो। भए/नभएको जाहेरीमा लेखेर आउनुभएकाले मैले प्रमाणसहित जाहेरी लेखेर आउनु भनेर फर्काइदिएँ,’ एसएसपी पोखरेलले भने, ‘अनुसन्धानको लागि यथेष्ट प्रमाणसहित जाहेरी दिन आउनुपर्यो होइन र?’
डिएसपी भारतीले जाहेरी लिन नमिल्ने भन्दै यसअघि नै फर्काइदिएको पीडितको आरोप छ । खासमा भएको के हो भनेर एसएसपी पोखरेललाई प्रश्न गर्दा उनले यस्तो हुनै नसक्ने बताए। ‘प्रमाणसहित आएको अवस्थामा जुनसुकै केस पनि दर्ता हुन्छ,’ उनले भने।
आरतीको परिवार सानैमा झापाबाट काठमाडौं सरेको हो। सानैमा आरतीको बुबाको दुर्घटनामा निधन भयो। बुबा बितेपछि उनकी आमाले छोराछोरीलाई राम्रो शिक्षादिक्षा र पालनपोषण हुन्छ भनेर काठमाडौं आउने निधो गरेकी थिइन्। काठमाडौं आएलगत्तै उनी खाजा पसलमा काम गर्न सुरु गरिन्।

अहिले पनि खाजा पसलमै काम गर्छिन्। उनको भाइ पनि काम गर्छन्। खाजापसलबाट आएको पैसाले नै तीनजनाको परिवार चल्दै आएको थियो। आरतीको पढाई पनि राम्रै थियो। आमाको दुःख देखेपछि आरतीले पनि जागिरको इच्छा देखाएकी थिइन्। जागिर खोज्ने क्रममा उनले एक सहकारीमा कामको अवसर पाइन्।
थोरै तलबमा भएपनि आरतीले दैनिक सहकारीका सेवाग्राहीसँग पैसा उठाउन थालिन्। त्यहि दौरानमा आरतीको मुकेशसँग भेट भएको थियो। मुकेश एक सैलुनमा काम गर्थे। आरतीले काम गर्ने सहकारीमा मुकेशको खाता थियो। आरती हरेकदिन पैसा उठाउने सिलसिलामा मुकेशको सैलुनमा पनि पुग्थिन्।
त्यहिँबाट उनीहरुको चिनजान भएको हो। सामान्य चिनजानपछि उनीहरुले मोबाइल नम्बर समेत साटे। उनीहरुबीच कुराकानी हुन थाल्यो। त्यतिमात्र नभएर उनीहरु सामाजिक सञ्जालमा समेत जोडिए। आरतीलाई गाह्रोसाह्रो पर्दा मुकेशले सानातिना समस्याहरु सल्टाइदिन्थे।
त्यहि भएर आरतीले मुकेशलाई विश्वास गर्थिन्। मुकेशले जे भन्यो नकार्न गाह्रो पथ्र्यो। आज जसलाई विश्वास गर्यो उसैले आरतीको जीवन बर्बाद पारिदिएको छ। प्रहरीले समेत आरतीलाई सहयोग नगरेपछि महिला आयोगमा मुकेश पाण्डेविरुद्ध उजुरी परेको छ।
तर, महिला आयोगले पनि आरतीको मुद्दालाई खासै चासो देखाएको छैन। महिला आयोगबाट पनि असहयोग पाएपछि आरती सरकारी वकिलको कार्यालयसम्म पनि पुगिन्। तर उनलाई कहिँकतैबाट न्याय दिलाउने काम भएको छैन। उल्टो उनलाई नराम्रो बनाउने प्रयास भइरहेको छ।
उपचारका लागि पाटन अस्पताल गएकी आरतीको पेपरमा डाक्टरले उनी घटनाको दिनदेखि सुत्न नसकेको बताएको जनाउँदै उक्त घटनाको बारेमा आवश्यकताअनुसारको काम गर्न समेत अनुरोध गरिएको छ ।



सुजन पन्त |
