क्यासिनोबाट समातिए गाउँपालिका अध्यक्ष यादव र इन्स्पेक्टर पौडेलसहित ८ जना


धनुषा — जिल्ला प्रहरी कार्यालयपर्साको टोलीले वीरगञ्जस्थित एक क्यासिनोमा नेपाली नागरिकलाई प्रवेश गराई जुवा खेलाएको आरोपमा गाउँपालिका अध्यक्ष र इन्स्पेक्टरसहित ८ जनलााई पक्राउ गरेको छ ।

विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले भदौ १२ गते वीरगञ्जस्थित गोल्डेन फिंगर गेमिङ जोन (क्यासिनो)बाट सखुवाप्रसौनी गाउँपालिका अध्यक्ष जसवन्त यादव र इन्सपेक्टर प्रदीप पौडेलसहित पक्राउ परेका ८ जनाको नाम सार्वजनिक गरेको हो ।

जिल्ला प्रहरी कार्यालय पर्साले जारी गरेको प्रेस विज्ञप्तिअनुसार भदौ १२ गते राति करिब १०ः३० बजे वीरगञ्ज महानगरपालिका–१४ गण्डकस्थित उक्त क्यासिनोमा नेपाली प्रवेश गरी जुवा खेलिरहेको सूचना पाएपछि प्रहरीले टोली परिचालन गरेको थियो ।

प्रहरी टोलीले क्यासिनोमा नेपालीलाई प्रवेश गराई जुवा खेल्ने तथा खेलाउने कार्यमा संलग्न रहेको आरोपमा चार जना र नेपालीलाई क्यासिनोमा प्रवेश गराउने तथा जुवा खेलाउने कार्यमा संलग्न रहेको आरोपमा थप चार जनालाई नियन्त्रणमा लिएको जनाएको छ ।

प्रहरीका अनुसार जुवा खेल्ने कार्यमा संलग्न रहेको आरोपमा पर्साको सखुवाप्रसौनी गाउँपालिका–६ का ३६ वर्षीय जसवन्त यादव जो सखुवा प्रसौनी गाउँपालिकाका अध्यक्ष पनि हुन्, उनीसहित वीरगञ्ज महानगरपालिका–११ का ३० वर्षीय चन्दन सहनी, सोही वडाका ३९ वर्षीय ओमप्रकाश बैठा र स्याङ्जा, हरिनास गाउँपालिका–९ का ३६ वर्षीय प्रदीप पौडेललाई नियन्त्रणमा लिइएको हो । इन्स्पेक्टर पौडेल पोखरिया इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक रहेको प्रहरी स्रोतले बताएको छ ।

यता, यही प्रकरणमा सखुवाप्रसौनी गाउँपालिकाको सरकारी सवारीसाधनसमेत क्यासिनो परिसरबाट नियन्त्रणमा लिएको छ। गाउँपालिकाको ना १ झ १६८७ नम्बरको स्कर्पियो क्यासिनो परिसरमा भेटिएपछि प्रहरीले नियन्त्रणमा लिएको हो ।

प्रतिक्रिया