ठगीमा पक्राउ परेको खुलेपछि कांग्रेस अनुशासन समितिका संयोजक गुरुङले दिए राजीनामा


काठमाडौं – नेपाली कांग्रेसको अनुशासन समितिका संयोजक तारामान गुरुङले पदबाट राजीनामा दिएका छन्।

ठगीसम्बन्धी उजुरीपछि बिहीवार पक्राउ परेका गुरुङ प्रहरी हिरासतमा बसेर शुक्रबार छुटेका थिए।

काठमाडौं प्रहरी परिसरका प्रमुख एसएसपी दिलीप घिमिरेका अनुसार ठगी गरेको भनिएको रकम बुझाएपछि उनलाई हिरासतबाट मुक्त गरिएको थियो।

उनीविरुद्ध दोर्जे शेर्पा, रिगुंज्याम्पु शेर्पा र सुनुर्पु शेर्पाले ठगी आरोपमा प्रहरीमा जाहेरी दिएका थिए। गुरुङले दोर्जेलाई ३३ लाख ५० हजार, रिगुंज्याम्पुलाई १४ लाख र सुनुर्पुलाई २४ लाख गरी कुल ७१ लाख ५० हजार बुझाएर शुक्रबार बेलुका हिरासतमुक्त भएका थिए।

सत्तारुढ दलको राजनीतिक शक्ति दुरुपयोग गरेर यसअघि पूर्वराज्यमन्त्री एवम् कांग्रेस केन्द्रीय सदस्य गुरुङले उन्मुक्ति पाउँदै आएका थिए।

अनुशासन समितिको नेतृत्व गरिरहेका व्यक्ति नै ठगी आरोपमा पक्राउ परेपछि गुरुङको आलोचना हुँदै आएको थियो। त्यसपछि उनले समितिको संयोजक पदबाट राजीनामा दिएका हुन्।

आइतबार बसेको कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा सभापति गगन थापाले गुरुङले राजीनामा दिएको जानकारी गराएका थिए। उक्त जानकारी प्रवक्ता देवराज चालिसेले दिएका छन्।

प्रतिक्रिया