प्रतिस्पर्धाबाट एमाले अध्यक्ष चुनिने, ओली र रावल मैदानमा!

उपाध्यक्षमा भुसाल निर्वाचित भएमा बादल ‘आउट’ हुने सम्भावना


काठमाडौं – नेकपा एमालेको दसौं महाधिवेशनमा अध्यक्ष पदको लागि अन्ततः चुनाव नै हुने भएको छ। चुनावी प्रक्रियाबाटै अध्यक्ष चयन हुने भएपछि यतिबेला चितवनको सौरहामा एमाले प्रतिनिधिहरुको भीड भएको छ।

अध्यक्ष पदको लागि चुनावी मैदानमा होमिएका छन्, पार्टी अध्यक्ष केपी शर्मा ओली र पार्टी उपाध्यक्ष भीम रावल। रावलले उम्मेदवारी दर्ता गरेपछि ओलीले पनि अध्यक्षमा आफ्नो उम्मेदवारी दिएका छन्।

ओलीको प्रस्तावकमा विष्णु पौडेल र समर्थकमा शंकर पोखरेल रहेका छन् भने रावलको प्रस्तावकमा महादेव बजगाईं र समर्थकमा दुधकला बिष्ट रहेकी छन्।

अध्यक्ष ओलीले आफूलाई फेरि अध्यक्ष बनाएर बन्दसत्रमा आइतबार प्रस्तुत गरेको सूचीमा उपाध्यक्ष रावलले असहमति जनाउँदै उम्मेदवारी दर्ता गरेपछि प्रतिष्पर्धाबाट अध्यक्ष चुनिने पक्का भएको हो। मतदान कार्यक्रम बिहान ३ बजेसम्म रहने केन्द्रीय निर्वाचन आयोगले जनाएको छ।

रावलको उम्मेदवारीले सर्वसम्मत अध्यक्ष चुनिने ओलीको चाहना अपुरो बनेको छ। आज राति ९ बजेबाट हुने मतदानबाट एमालेको नयाँ अध्यक्षको छिनोफानो हुनेछ।

त्यतिमात्र होइन, उपाध्यक्ष र सचिवको लागि पनि चुनाव हुने भएको छ। अध्यक्ष ओलीले १९ पदाधिकारीको पेश गरेको सूचीमा घनश्याम भुसालको नाम नपरेपछि उपाध्यक्षमा समेत चुनाव हुन लागेको छ। ६ जना उपाध्यक्षमा ७ जनाको उम्मेदवारी परेको छ।

ओलीले पेश गरेको सूचीमा उपाध्यक्षहरुमा युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, सुरेन्द्र पाण्डे, रामबहादुर थापा बादल, विष्णु पौडेल र सुवास नेम्वाङको नाम अटे पनि भुसालको नाम समेटिएको थिएन।

त्यसैले भुसालले समेत उपाध्यक्षमा आफ्नो उम्मेदवारी दर्ता गराएका छन्। उपाध्यक्षमा भुसाल निर्वाचित भएमा पूर्वमाओवादी समूहबाट एमालेमा आएका रामबहादुर थापा ‘बादल’ आउट हुने सम्भावना रहेको स्रोतले बतायो।

यस्तै सचिव पदको लागि पनि चुनाव हुने भएको छ। ७ सचिवमा ९ जनाको उम्मेदवारी परेको छ।

ओलीले पेश गरेको पदाधिकारीको सूचीमा सचिवहरुमा टोपबहादुर रायमाझी, रघुवीर महासेठ, लेखराज भट्ट, गोकर्ण बिष्ट, योगेश भट्टराई, पद्मा अर्याल र छविलाल विश्वकर्माको नाम समेटिएको छ।

तर, यसअघि नवौ महाधिवेशनमा निर्वाचित सचिव भीम आचार्यको नाम नपरेपछि आचार्यले सचिवको लागि आफ्नो उम्मेदवारी दर्ता गराइसकेका छन्। त्यस्तै पार्टी केन्द्रीय सदस्य टंक कार्कीले पनि उम्मेदवारी दर्ता गराएका छन्।

यता आचार्य र कार्कीले सचिवमा निर्वाचित भएका पूर्व माओवादी समूहबाटै एमाले आएका टोपबहादुर रायमाझी र लेखराज भट्ट ‘आउट’ हुनेछन्।

०००

यस्तै नेकपा एमालेको वरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेल निर्विरोध निर्वाचित भएका छन्। उनको औपचारिक घोषणा हुन भने बाँकी छ। वरिष्ठ उपध्यक्ष अन्य कसैको उम्मेदवारी नपरेपछि पोखरेल निर्विरोध निर्वाचित हुने भएका हुन्।

यसैगरी, महासचिव पदमा पनि अरु कसैको उम्मेदवारी नपरेपछि शंकर पोखरेल निर्विरोध हुने निश्चित भएका छन्। त्यस्तै, तीन सिट रहेको उपमहासचिव पदमा प्रदीप ज्ञवाली, पृथ्वी सुब्बा गुरुङ र विष्णु रिमाल पनि निर्विरोध निर्वाचित हुने भएका छन्।

प्रतिक्रिया