
‘१० भाइ’ को समूह ओलीसँग छलफल गरेर रिसोर्टबाट निस्कियो
काठमाडौं – नेकपा एमालेको तेस्रो धारले पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग भेट गरेको छ। आइतबार ओली बसेको सफारी पार्क रिसोर्टमा उपाध्यक्ष युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्यसहितका नेताहरू छलफलपछि बाहिरिएका हुन्।
१० बुँदे सहमति पक्षका ‘१० भाइ’ समूहले पार्टी अध्यक्ष ओलीसँग भेट गरेर बाहिरिएका ज्ञवाली र शाक्यले के विषयमा छलफल भएको भन्ने केही खुलाउन चाहेनन्।
स्रोतका अनुसार उनीहरूले आफ्नो समूहबाट पदाधिकारीमा रहनुपर्ने नेताको नाम ओलीलाई बुझाएको हुनसक्छ। आफू बसेको रिसोर्टमा ओलीले पदाधिकारीका आकांक्षी र आफू निकट नेताहरूसँग छलफल गरिरहेका छन्।
‘१० भाइ’ समूहमध्ये भीम रावलले अध्यक्षमा र घनश्याम भुसालले उपाध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका छन्। रावल निकट कार्यकर्ताले त बन्दसत्र हल बाहिर पर्चासमेत बाँड्न थालेका छन्।



कागजपत्र |
