घरमा आगलागी हुँदा तीन वर्षका दुई बालबालिकाको मृत्यु


चितवन – चितवनको राप्ती नगरपालिका–१ मा पर्ने पहाडी गाउँ परेवाकोट मइनटारमा जितबहादुर तामाङको घरमा आगलागी हुँदा उनका दुई नातिनातिहरुको मृत्यु भएको छ । चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी नरहरी अधिकारीका अनुसार मृत्यु हुनेमा तीन वर्षका बालबालिकाहरु सुरज रुम्बा र मनिषा तामाङ रहेका छन् ।

हिजो शनिबार बिहान १० बजेतिर जितबहादुरको जस्ताले छाएको र काठले बारेको घरमा आगलागी भएको थियो । राप्ती-१ का वडाध्यक्ष सिद्धिलाल स्याङ्तानले बिजुली नपुगेको सो पहाडी गाउँमा सोलारबाट बत्ती बाल्ने गरेको बताए । केटाकेटीहरुले घरमा राखेको सोलारको ब्याट्री खेलाउँदा उक्त दुर्घटना भएको हुन सक्ने वडाध्यक्ष स्याङ्तानको भनाइ छ ।

घटनास्थल पुगेर फर्केका राप्ती–१ का वडा सदस्य मोचन तमाङले जितबहादुरको घरबाट उनका छोरा र छोरीको घरमा बत्ती बाल्न तार लगेको बताए । ‘घरमा कोही नभएको बेलामा जितबहादुरका छोराको छोरा र छोरीकी छोरी खेल्दै खेल्दै गएका रहेछन् । ‘सायद माथि रहेको सोलारको ब्याट्री चलाउँदा नै यस्तो घटना भएको हुन सक्छ,’ वडा सदस्य मोचनले भने ।

उनीहरुको घटनास्थलमै मृत्यु भएको हो । जितबहादुरको घर पनि जलेर पूर्णरुपमा नष्ट भएको छ । घरमा रहेको कोदो, १० मुरी धान र फाइबरको ब्लाङ्केटहरु जलेर नोक्सान भएको वडा सदस्य मोचन तामाङले बताए ।

प्रतिक्रिया