भृकुटीमण्डपमा भएको आगलागी साढे दुई घण्टापछि नियन्त्रणमा


काठमाडौं – काठमाडौंको भृकुटीमण्डपमा भएकोआगलागी  झण्डै साढे दुई घण्टापछि पूर्ण रूपमा नियन्त्रण आएको छ। बुधबार साढे दुई बजे भृकुटीमण्डपस्थित समाज कल्याण परिषदको गोदाम घर र राष्‍ट्रिय अपाङ्ग कोषको कृतिम मानव अंगहरू राखिएको गोदाम घरमा आगोलागी भएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए।

आगलागी झन्डै सवा ६ बजेतिर नियन्त्रणमा लिइएको हो।  उनका अनुसार आगलागी नियन्त्रणका लागि काठमाडौं महानगरपालिकाबाट (जुद्द बारुण यन्त्र)-१, बौद्ध रामहिटिबाट -१, ललितपुर महानगरपालिकाबाट-१, भक्तपुर नगरपालीकाबाट -१, नेपाली सेनाबाट -२, विमानस्थलबाट-१ र नेपाल प्रहरीबाट- १ वाटर क्यानन सहित ८ वटा दमकल र झन्डै ३० वटा पानी ट्याङकरहरू परिचालन गरिएको थियो।

यस्तै जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी वरिष्‍ठ उपरीक्षक, प्रहरी उपरीक्षक  , प्रहरी नायव उपरीक्षक, प्रहरी वृत्त सिंहदरबार, मालीगाउँबाट प्रहरी नायब उपरीक्षक, नगर प्रहरी, अन्य वृत्तहरु र ट्राफिक प्रहरीबाट प्रहरी निरीक्षकहरू, विपत् व्यवस्थापन महाशाखाबाट प्रहरी निरीक्षकसहित-२५ जना गरी झन्डै १२० जना प्रहरी टोली परिचालन गरिएको थियो।

नेपाली सेनाबाट झन्डै १ सय जना, सशस्त्र प्रहरी बल, नेपाल विपद् व्यवस्थापन गण र सशस्त्र प्रहरी गुल्म बाघ भैरवबाट झन्डै ६० जना सुरक्षाकर्मीहरू परिचालित भएका प्रहरी नायब उपरीक्षक मैनालीले बताए। त्यस्तै गरी महानगरपालिकाबाट झन्डै ३० जना नगरपालिकाको सुरक्षाकर्मीहरू परिचालित भएका छन्।

आगलागीमा कुनैपनि मानवीय क्षति भने भएको छैन। प्रारम्भिक रूपमा बुझ्दा करोडौको क्षति भएको भन्ने अनुमान छ। अहिले इन्भेन्टोरी चेकिङ गर्ने काम भइरहेको छ। प्रहरी उपरीक्षक मैनालीले आगलागीको कारण अझै खुलेको छैन। प्रहरी वृत्त सिंहदरबारबाट थप अनुसन्धान भइरहेको जनाइएको छ।

प्रतिक्रिया