एमाले महाधिवेशनः आज १० बजे बन्दसत्र सुरु, केन्द्रीय कमिटी ३०१ पुर्‍याइँदै


काठमाडौं- चितवनमा जारी नेकपा एमालेको दशौ महाधिवेशनअन्तर्गत नेतृत्व चयनका लागि आज बिहान १० बजे बन्दसत्र सुरु हुने भएको छ।

नारायणी नदी किनारमा शुक्रबार औपचारिक उदघाटन भएको दशौं राष्ट्रिय महाधिवेशनको बन्दसत्र आज सौराहास्थित सेभेन स्टार होटलमा हुन लागेको हो।

एमाले प्रचार विभाग प्रमुख योगेश भट्टराईले शनिबार बिहान १० बजे बन्दसत्र उदघाटन हुने बताए।  ‘शनिबार १० बजे बन्दसत्रको कारवाही सुरु हुनेछ । उद्घाटन सत्रमा अध्यक्ष केपी शर्मा ओली तथा विदेशी अतिथिको सम्बोधन रहनेछ,’ भट्टराईले भने ।

एमाले महाधिवेशनमा विदेशी प्रतिनिधिमा भारत, बंगलादेश, श्रीलंकालगायत देशबाट नेताहरु आएका छन्। बन्दसत्रमा आउने प्रतिनिधिलाई एमालेले आवास तथा भोजनको व्यवस्था गरेको छ । बन्दसत्रबाट नयाँ नेतृत्व चयन हुनेछ । महाधिवेशन आइतबारसम्म चल्नेछ।

यसअघि शुक्रबार मध्यरातमा सम्पन्न केन्द्रीय कमिटीले पदाधिकारीको संख्या थप्ने निर्णय गरेको छ।

शुक्रबार मध्यराति बसेको बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले राखेको केन्द्रीय पदाधिकारी र सदस्यहरूको संख्या थप्ने प्रस्ताव कमिटीको बैठकले सर्वसम्मत पारित गरेको हो।

बैठकपछि कमिटीले गरेका निर्णयहरू एमालेका प्रचार विभाग प्रमुख योगेश भट्टराईले हस्तलिखितरुसमा सार्वजनिक गरेका थिए।

जसअनुसार हाल २२५ सदस्यीय केन्द्रीय कमिटीमा ७५ जना थपेर ३०१ सदस्यीय पुर्‍याइने छ। यसैगरी पोलिटब्युरोमा ९९ सदस्य रहनेछन्। स्थायी कमिटी भने यथावत राखिएको छ।

यस्तै एमालेका अनुशासन आयोग, लेखा आयोग र निर्वाचन आयोग प्रत्येक २५ सदस्यीय हुने छन्। पदाधिकारीमा वरिष्ठ उपाध्यक्षसहित अब एमालेमा सात जना उपाध्यक्ष रहनेछन्। यसैगरी थपिने दुई जनासहित उपमहासचिव तीन जना रहनेछन्।

प्रतिक्रिया