एमाले महाधिवेशनः देउवा जाने, नेपाललाई निम्तै छैन
‘प्रचण्ड जाने–नजाने टुंगो छैन’
काठमाडौं – नेकपा एमालेको १० औँ राष्ट्रिय महाधिवेशनलाई प्रधानमन्त्री शेरबहादुर देउवाले सम्बोधन गर्ने भएका छन्। नेपाली कांग्रेसका सभापतिसमेत रहेका देउवाले शुक्रबार चितवन पुगेर महाधिवेशनलाई सम्बोधन गर्ने कार्यक्रम तय भएको हो।
का अनुसार देउवा बिहान ११ः४५ बजे भरतपुरस्थित जुनियर प्रहरी अधिकृत शिक्षालयमा आइपुग्नेछन् । हेलिकोप्टरबाट आउने कार्यक्रम रहेको बताइएको छ ।
नारायणी नदी किनारमा हुने महाधिवेशन उद्घाटन सत्रमा सम्बोधन गर्ने कार्यक्रम रहेको चितवनका प्रमुख जिल्ला अधिकारी (सिडिओ) असमान तामाङले जानकारी दिए।
यस्तै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ महाधिवेशनमा जाने–नजाने टुङ्गो लागिसकेको छैन। महाधिवेशनमा एमाले विभान गरेर नयाँ पार्टी गठन गरेका नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाललाई भने निम्तो नै दिइएको छैन।
त्यसकारण नेपाल महाधिवेशनमा जाने छैनन्। जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी, जनता समाजवादी पार्टी (लोकतान्त्रिक) का महन्थ ठाकुर वा राजेन्द्र महतो कार्यक्रममा जाने भएका छन्।
अन्य राजनीतिक दलका नेतासमेत महाधिवेशनमा सहभागि हुने सिडिओ तामाङले बताए। एमाले महाधिवेशनलाई सम्बोधन गर्न विदेशबाट विभिन्न दलका नेतासमेत आउनेछन्। एमालेले अहिलेसम्मको तयारी र पाहुनाका विषयमा आज दिउँसो पत्रकार सम्मेलन गरेर जानकारी दिने जनाएको छ।
महाधिवेशन यही मङ्सिर १० गते देखि १२ गतेसम्म हुँदैछ। महाधिवेशनको उद्घाटन सत्रमा पाँच लाख नेता कार्यकर्ता सहभागी हुने पार्टीले जनाएको छ। बन्दसत्र सौराहामा गरिँदैछ।