काँग्रेस महाधिवेशन प्युठान: मतगणना स्थलमा गोली चल्यो, ७ जना घाइते
बुटवल – नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तर्गत प्युठान जिल्ला अधिवेशनको मतगणनास्थलमा गोली चलेको छ । मतपरिणाममा असन्तुष्टि जनाउँदै युवाहरुले गरेको प्रदर्शनका क्रममा प्रहरीले गोली चलाएको जनाइएको छ ।
मंगलबार राति मतगणना स्थल स्वर्गद्वारी क्याम्पसमा काँग्रेस कार्यकर्ता र प्रहरीबीच झडप भएको जिल्ला प्रहरी कार्यालय प्युठानले जनाएकाे छ ।
प्रदर्शनसँगै झडपले उग्र रुप लिएको भन्दै स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले केही राउन्ड गोली चलाउनुका साथै सात सेल अश्रु ग्यास समेत प्रहार गरेको छ । यद्यपि गोली कसैलाई लागेको छैन ।
यसैबीच झडपका क्रममा दुई प्रहरी सहित कम्तिमा ७ जना घाइते भएका छन्। अहिले स्थिति नियन्त्रणमा आएको प्रहरीले बताएको छ ।