

मनोज गजुरेल भन्छन्-,‘नयाँवर्षमा विवाह गर्छु’

काठमाडौं – अभिनेत्री श्वेता खड्काले सोमबार दोस्रो विवाह गरिरहँदा स्टेण्डअप कमेडियन मनोज गजुरेलले पनि दोस्रो विवाह गर्दैछन् भन्ने समाचार एकाएक सञ्चारमाध्यममा आयो । समाचारमा उनले विवाह गर्ने निश्चित भए पनि कहिले गर्ने भन्ने केही खुलाएका छैनन् । तर अनलाइनन्यूजसेभेनसँगको कुराकानीमा उनले आफूले नयाँवर्षमा विवाह गर्ने खुलाए ।
‘समाचारमा आएका कुरा सत्य हुन् । एक्लै बस्न सकिँदैन । छोराछोरी ठूला भइसके पढ्दैछन्, पछि विदेश जालान् । त्यसले गर्दा झन एक्लो अनुभव गराउँछ’उनले भने,‘विवाह वर्षदिनमा गर्छु । अर्थात् नयाँवर्षमा विवाह गर्दैछु ।’
अहिलेको अवस्थामा सामान्य रुपमा नै विवाह गर्ने भए पनि तुरुन्तै गर्ने योजना भने नरहेको उनले खुलाए । ‘त्यसकारण अहिले नै मिति नतोकौं । व्यवहारिक कुरा मिलाउनुछ, जे होस नयाँवर्ष कट्दैन’, उनले भने ।
मनोजले २०७४ सालमा श्रीमती मीना ढकालसँग डिभोर्स गरेका थिए । मीना र मनोजका एक छोरा र एक छोरी छन् । डिभोर्स हुँदा २३ वर्षका छोरा मिरोज बुवासँग र १५ वर्षकी छोरी मेमोरी आमासँग बस्ने सहमति भएपनि अहिले दुवै मनोजसँगै बसिरहेका छन् ।

