प्रधानमन्त्री शेरबहादुर देउवा बेलायत प्रस्थान, कार्यवाहक कार्यभार गृहमन्त्री खाँणलाई


काठमाडौं – जलवायु परिवर्तनसम्बन्धी सम्मेलन (कोप-२६) मा भाग लिन प्रधानमन्त्री शेरबहादुर देउवा बेलायत प्रस्थान गरेका छन् । प्रधानमन्त्री देउवा आज (शुक्रबार) बिहान कतार एयरवेजको जहाजबाट बेलायत प्रस्थान गरेका हुन् ।

पाँचौँ पटक प्रधानमन्त्री भएपछि प्रधानमन्त्री देउवाको यो पहिलो विदेश भ्रमण हो । जलवायु परिवर्तनसम्बन्धी सम्मेलन बेलायतको सहर ग्लासगोमा यही कात्तिक १२ गतेदेखि २६ गतेसम्म चल्ने छ । प्रधानमन्त्री देउवाले त्यहाँ वर्ल्ड लिडर समिटलाई सम्बोधन गर्ने कार्यक्रम छ ।

प्रधानमन्त्रीको टोलीमा वन तथा वातावरण मन्त्री रामसहाय प्रसाद यादवसहित २० सदस्य छन् । प्रधानमन्त्री देउवासहितको टोली १८ गते स्वदेश फर्किने छ ।
प्रधानमन्त्रीको अनुपस्थितिमा दैनिक प्रशासनिक कामकाज गृहमन्त्री बालकृष्ण खाँणले सम्हाल्नेछन् ।

प्रतिक्रिया