किएभनजिकैको हवाई मैदान नियन्त्रणमा लिएको रुसको दाबी


काठमाडौं – आफ्नो फौजले युक्रेनको राजधानी किएभनजिकै अवस्थित एउटा प्रमुख हवाई मैदान नियन्त्रणमा लिएको रुसले दाबी गरेको छ।रुसको रक्षा मन्त्रालयका अनुसार किएभबाट ७ किलोमिटर (४ माइल) उत्तरपश्चिममा रहेको रणनीतिक होस्टोमेल एयरफिल्डलाई कब्जा गरेको र प्याराट्रूपर्सलाई उक्त क्षेत्रमा अवतरण गराएको हो।

उक्त एअरफिल्ड कब्जा गर्न २०० वटा हेलिकोप्टर र सैनिकहरूको एउटा टोली प्रयोग भएको रुसी समाचारसंस्था इन्टरफ्याक्सले बताएको छ।उक्त कब्जासँगै पश्चिमबाट सेनाहरुको किएभमा पहुँच अवरुद्ध भएको छ। साथै, पूर्वी युक्रेनमा मस्को-समर्थित पृथकतावादी सेनाहरूले युक्रेनी सेनालाई लक्षित गरेर आक्रमण गरिरहेको छ।

यसैबीच रुसले बेलायती एयरलाइन्सको विमानमाथि प्रतिबन्ध लगाएको छ। रुसको सिभिल एभिएशन रेग्युलेटरले बेलायती एयरलाइन्सको विमानलाई आफ्नो हवाई क्षेत्रबाट जान पनि अनुमति नदिने जनाएको छ।

यसअघि बेलायतले रुसले युक्रेनमाथि आक्रमण गरेको भन्दै रुसको राष्ट्रिय एयरलाइन एरोफ्लोटलाई आफ्नो देशमा अवतरण गर्न रोक लगाएको थियो। त्यसको जवाफी कारबाही स्वरूप रुसले पनि बेलायती एअरलाइन्सका विमान आफ्नो देशमा अवतरण गर्न रोक लगाएको हो। बीबीसी

प्रतिक्रिया