बालकोट बैठक सकियो, सहमतिका लागि एमालेका दुई सर्त


काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवा र प्रमुख प्रतिपक्ष नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीचको छलफल सकिएको छ । प्रतिनिधि सभाको अवरोध हटाउने र एमसीसी अनुमोदन गर्ने विषयमा दुवै जनाबीच बालकाेटमा छलफल भएकाे हाे।

छलफलकाे क्रममा एमाले नेताहरुले अमेरिकी सहयोग परियोजना एमसीसीबारे आफ्नो दल अनिर्णित नरहने बताएका छन् । तर संसदमा उपस्थित भएर यसबारे छलफल गर्न आफूले कारबाही गरेका १४ सांसदलाई पदमुक्त गरेको सूचना टाँस्ने वा सभामुखको राजीनामा शर्त भएको एमालेले बताएको छ ।

नेपाली कांग्रेसका नेताहरुसहित एमाले अध्यक्ष ओलीको निवास बालकोट पुगेका प्रधानमन्त्री देउवाले सबैको सहमतिमा एमसीसी अनुमोदन गर्न प्रस्ताव गरेका थिए ।

छलफलमा कांग्रेस पार्टी उपसभापति पूर्ण बहादुर खड्का, महामन्त्री गगन थापा र पार्टी नेता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीकाे पनि सहभागिता रहेकाे थियाे ।

सत्ता सहयात्रीहरु नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टीसँग दिनभर जसो छलफल गरेका प्रधानमन्त्री देउवा पार्टीको आन्तरिक छलफल सकिएपछि ओलीलाई भेट्न पुगेका बालकोट पुगेका हुन् ।

प्रतिक्रिया