एमाले केन्द्रीय कमिटी बैठक बस्दै, महाधिवेशन तयारीलगायतका विषयमा छलफल हुने


काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी बैठक आज बस्दैछ । स्थायी कमिटीको बिहीबारको बैठकले गरेका निर्णय अनुमोदनका लागि आज केन्द्रीय कमिटी बैठक बस्ने भएको हो।

तुल्सीलाल स्मृति प्रतिष्ठानमा बस्ने गरी बिहान ११ बजेका लागि बैठक बोलाइएको पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिए। बैठकमा वडा तथा पालिका अधिवेशनको समीक्षालगायत विषयमा छलफलसमेत हुनेछ।

साथै एमालेले पार्टी महाधिवेशनमा आउने प्रतिनिधिबारे बिहीबार स्थायी कमिटीमा छलफल गरेको थियो। एमालेले मंसिर १० देखि १२ सम्म चितवनमा दसौं महाधिवेशन गर्दैछ।

महाधिवेशनमा एक हजार पाँच सय ३६ जना महाधिवेशन प्रतिनिधि सहभागी हुनेछन्। प्रतिनिधि सभा क्षेत्रबाट महाधिवेशन प्रतिनिधि चयन गरिनेछ।

महाधिवेशन तयारीलगायत विषयमा आज केन्द्रीय कमिटी बैठकमा पनि छलफल हुने नेताहरूले बताएका छन्।

प्रतिक्रिया