एमालेको विधान महाधिवेशन सम्पन्न- तीन वटै प्रस्ताव सर्वसम्मत पारित, दुई पटक बढी कार्यकारी बस्न नपाइने


काठमाडौं – नेकपा एमालेको पहिलो विधान महाधिवेशनमा प्रस्तुत भएको राजनीतिक, संगठनात्मक र विधान संशोधन प्रस्ताव सुझावसहित पारित भएको छ ।

असोज १५ गतेदेखि सुरु भएको विधान महाधिवेशन हिजा(आइतबार) सम्पन्न भएको हो । तीन दिनसम्म ललितपुरको गोदावरीमा चलेको एमालेको महाधिवेशनमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन, महासचिव ईश्वर पोखरेलको संगठनात्मक प्रस्ताव र संगठन विभाग प्रमुख एवम् उपमहासचिव विष्णुप्रसाद पौडेलको विधान संशोधन प्रस्ताव सर्वसम्मत पारित भएका हुन् । राजनीतिक प्रतिवेदनमाथि अध्यक्ष ओलीले जवाफ दिएपछि पार्टी प्रवक्ता प्रदीप ज्ञवालीले तीन वटै प्रस्ताव पारित गर्न हललाई आग्रह गरेका थिए । हलले सर्वसम्मत रुपमा ती प्रस्ताव पास गरेको हो ।

यसअघि बोल्दै अध्यक्ष ओलीले अताल्लिएर नयाँ पार्टीमा गएका एमालेका नेता कार्यकर्तालाई एमालेमै फर्किन आग्रह गरेका थिए । ओलीले नेकपा एकीकृत समाजवादीमा गएका सच्चा एमाले कार्यकर्तालाई पार्टीमा फर्कन आग्रह गरेका हुन् । उनले एमालेमा फर्किने वातावरण बनाउन स्थानीय तहदेखि नै पहल गर्न नेताहरुलाई निर्देशनसमेत दिएका थिए ।

यसैबीच, एमालेमा एक व्यक्तिले दुईपटकभन्दा बढी कार्यकारी पदमा उम्मेदवार बन्न नपाइने व्यवस्था गरिएको छ । पहिलो विधान महाधिवेशनमा उठेको सवालहरूको जवाफ दिँदै उपमहासचिव विष्णु पौडेलले कुनै नेताले जिते पनि हारे पनि दुईपटकभन्दा बढी उमेदवार बन्न नपाइने व्यवस्था गरिएको बताउनुभयो । उहाँले एउटै कार्यकारी पदमा एकै व्यक्ति दुईपटकभन्दा बढी उमेदवार बन्न नपाइने व्यवस्था गरिएको पनि जानकारी दिए।

यस्तै उमेरहदको सम्बन्धमा पनि ७० वर्ष कायम गरिएको छ । कुनै व्यक्ति ७० वर्ष नपुग्दासम्म पदमा लड्न र बसेर काम गर्न पाउने छन् । तर कार्यकालको बीचमा ७० वर्ष पुगे वा कटे उसलाई त्यो कार्यावधिभर काम गर्न पदमा बस्न पाउने व्यवस्था गरिएको पौडेलले बताए । यसबाट वर्तमान अध्यक्ष ओली यदि मंसिरमा फेरि अध्यक्ष बनेका खण्डमा उनले पूर्ण कार्यकाल काम गर्न पानेछन् ।

ललितपुरको गोदावरीमा सम्पन्न विधान महाधिवेशनमा देशभरबाट ६ हजार ३ सय ४७ प्रतिनिधि सहभागी भएका थिए ।

प्रतिक्रिया