
ओलीको शैली र रणनीतिमाथि आक्रमण गरेकै हुँ : प्रचण्ड
काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीसँग आफूले ठूलो साहसले विद्रोह गरेको बताएका छन् ।
नेकपा माओवादी केन्द्रको सम्पर्क समन्वय प्रदेश कमिटीको प्रशिक्षण भेलामा शनिबार सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले तत्कालीन नेकपा कायम रहेको अवस्थामा ओलीसँग आफूले ठूलो साहसले विद्रोह गरेको बताएका हुन् ।
देशलाई दुर्घटनाबाट जोगाउनकै लागि ओलीविरुद्ध आफूले दस्तावेजको ‘बम’ हान्न वाध्य भएको बताउदै उनले भने ‘मैले केपी ओलीको विचार के हो रु शैली के हो ? रणनीति के हो? उसको भ्रष्टाचार कति छ ? भनेर आक्रमण गरेकै हो’,। उनले अघि भने, ‘मैले पेश गरेको त्यो डकुमेन्ट ‘बमबार्ड द बुर्जुवा हेड क्वार्टर’ नै थियो ।’ उनले ओलीविरुद्ध दस्तावेजको बम हानेपछि आफूलाई बालुवाटारको कैदबाट मुक्ति मिलेको पनि बताए ।
‘ओलीविरुद्ध पेश गरेको त्यो दस्तावेज बम नै हो । तीन वर्षभित्र कता कता बालुवाटारभित्र कैदी भएको जस्तो थियो’, उनले अगाडि थपे, ‘बिहानै बालुवाटार, दिउँसो बालुवाटार, बेलुका बालुवाटार, मत वाक्क भइसकेको थिएँ । जति पेले पनि तेल त आउने होइन ।’ उनले एउटा प्रधानमन्त्री र आफ्नै पार्टीको अध्यक्षविरुद्धको विद्रोह गम्भीर नै रहेको बताए । ‘एउटा प्रधानमन्त्री र आफ्नो पार्टीको अध्यक्षविरुद्ध विद्रोह र आक्रमण अलिक गम्भीर नै थियो’, उनले भने, ‘मेरो जोखिम मोल्ने आँटले जे पनि हुन सक्थ्यो । तर मैले देशलाई दुर्घटनाबाट पर्न जोगाएँ ।’
प्रचण्डले २०७७ पुस ५ गते ओलीले प्रतिनिधिसभा विघटन गरिदिएपछि आफूलाई बालुवाटारबाट मुक्ति मिलेको बताए । ‘ओलीले प्रतिनिधिसभा विघटन गरिदिएपछि मलाई आनन्द आयो’, उनले भने, ‘म बालुवाटारको कैदबाट मुक्त भएँ, ठूलो राहत पाए जस्तो भयो ।’
प्रचण्डले पूर्व माओवादी शक्तिबीच एकता अघि बढाइएको पनि बताए । उनले नेत्रविक्रम चन्द ‘विप्लव’, मोहन वैद्य ‘किरण’ र डा. बाबुराम भट्टराईसहितका शक्तिसँग एकताका लागि कुरा भइरहेको बताएका छन् ।



कागजपत्र |
