कांग्रेस नेता डा. शेखर कोइरालाद्वारा एकताको आह्वान


काठमाडौं – नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीभित्रको आन्तरिक विभाजन र गुटबन्दीप्रति चिन्ता व्यक्त गर्दै पार्टीलाई एकताबद्ध बनाउन आह्वान गरेका छन् । बिहीबार एक प्रेस विज्ञप्ति जारी गर्दै डा. कोइरालाले कांग्रेसको आसन्न महाधिवेशन र मुलुकको वर्तमान अवस्थाबारे चिन्ता प्रकट गरेका हुन् ।

विज्ञप्तिमा डा. कोइरालाले लेखेका छन्, ‘नेपाली कांग्रेस आज आफ्नो विरासत र आदर्शबाट विचलित हुँदै गएको छ । हामी न अजेय छौं, न त विजयी नै । हामी विभाजित र गन्तव्य हराएको माझीझैं भएका छौं ।’ उनले पार्टीका संस्थापक नेता बीपी कोइरालाको राजनीतिक र नैतिक दर्शनलाई आत्मसात् गर्दै पार्टीलाई एकढिक्का बनाउनुपर्नेमा जोड दिएका छन् ।

रसुवा, नुवाकोट र धादिङलगायतका क्षेत्रमा प्राकृतिक प्रकोपका कारण नागरिकले भोगिरहेको पीडाप्रति पार्टी गम्भीर नभएको भन्दै उनले असन्तुष्टि व्यक्त गरेका छन् । ‘नेपाली जनता रोइरहेका छन्, परिवारका सदस्य गुमाएका छन् । उनीहरूको पीडाको मल्हम बन्नुपर्ने कांग्रेस किन कानुन र विधानका धारामा अल्झिएर मानवीय संवेदनासँग खेलबाड गर्दैछ ?’ उनले प्रश्न गरेका छन् ।

पार्टीको आसन्न दुईवटा महाधिवेशनले देशको राष्ट्रियता र लोकतान्त्रिक आन्दोलनमा पार्न सक्ने नकारात्मक असरप्रति सचेत रहन उनले आग्रह गरेका छन् । ‘यो विभाजनलाई रोकौं, एउटा मध्यमार्गी र विवेकपूर्ण समझदारीको बाटो खोजौं,’ उनले लेखेका छन् ।

आफूले निरन्तर संवाद र एकताको प्रयास जारी राख्ने बताउँदै डा. कोइरालाले छिट्टै पार्टीका साथीहरूसँग भेट्न गाउँघर आउने प्रतिबद्धतासमेत व्यक्त गरेका छन् ।

1

2

3

 

 

प्रतिक्रिया