४८ मिनेटपछि पछाडि फर्किएका ओलीले शंकरलाई के जिम्मेवारी दिए?
काठमाडौं – नेकपा एमालेको पहिलो विधान महाधिवेशन आजबाट सुरु भएको छ। देशैभरका ६ हजार भन्दाबढी नेता कार्यकर्ता सहभागी हुने उक्त महाधिवेशनको उद्घाटन पार्टी अध्यक्ष केपी शर्मा ओलीले गरेका छन्।
एमालेको इतिहासमा पहिलो पटक भएको यो विधान महाधिवेशन ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा जारी छ। पहिलो दिन सम्मेलनको उद्घाटन सत्रमा ओलीले राजनीतिक प्रतिवेदन प्रस्ताव पेश गरे।
प्रस्ताव पेश गर्दागर्दै अध्यक्ष ओलीले स्वास्थ्य समस्याका कारण आफ्नो भाषण पूरा गर्न सकेनन्। राजनीतिक प्रस्ताव पेश गर्दागर्दै भाषणकै क्रममा असजिलो महसुस गरेपछि उनले आफूलाई रुघाखोकीको समस्या रहेको जानकारी दिए।
करिब ४८ मिनेट बोलेपछि ओलीले केही समय रोकिँदै पछाडि स्टेजतर्फ हेरे र बाँकी रहेको प्रस्ताव पेश गर्ने जिम्मेवारी स्थायी कमिटी सदस्य शंकर पोखरेललाई दिए।
‘कमरेडहरु मलाई अलिकति रुघाखोकीको कारणले प्रस्तुत गर्न समस्या भयो,’ पोखरेललाई जिम्मेवारी दिनुअघि ओलीले भने, ‘लामो भएको कारणले म कमरेड शंकर पोखरेललाई मेरोतर्फबाट प्रस्ताव प्रस्तुत गर्नुहुन अनुरोध गर्दछु, मेरो तर्फबाट उहाँले गर्नुहुन्छ।’
ओलीले बोलाएसँगै पोखरेल हाँस्दै पोडियतमर्फ बढे। पोखरेलले पढ्न थालेपछि ओली त्यहिँ आराम गरे। पोखरेलले करिब सवा घण्टामा बाँकी प्रस्ताव पढेर सके। ओली त्यहिँ थिए।
आफूले प्रस्तुत गरेको राजनीतिक प्रस्ताव पेश गर्दागर्दै समस्या देखाएर ओलीले पोखरेललाई जिम्मेवारी सुम्पिन्नुले एमालेमा ओलीपछिको उत्तराधिकारी को भनेर बहस सुरु भएको छ। राजनीतिक दृष्टिकोणमा यसलाई अर्थपूर्ण रुपमा हेरिएको छ।
प्रतिवेदन प्रस्ताव बीचमै छाडेर नेता पोखरेललाई प्रस्तुत गर्न लगाउनुलाई ओलीले आफ्नो उत्तराधिकारीको रुपमा उभ्याएको चर्चा हुन थालेको छ। एमालेका केही नेताहरुले पोखरेललाई उत्तराधिकारी र नेतृत्वको विषयसँगसमेत जोड्न भ्याएका छन्।
ओलीले पोखरेललाई उत्तराधिकारीको रुपमा हेरेको हुनसक्ने एमालेका एक स्थायी कमिटी सदस्यले बताए। अर्काथरीले भने यसलाई सामान्य रुपमा लिएका छन्। दुई–दुई पटक मृगौला प्रत्यारोपण गरेका ओलीले लामो समय उभिएर बोल्दा गाह्रो हुने र स्वास्थ्यमा समेत समस्या देखिएकाले पोखरेललाई बोलाएको बताएका छन्।
एमालेका महासचिव ईश्वर पोखरेलले सांगठनिक प्रस्ताव र उप–महासचिव विष्णु पौडेलले विधान संशोधन प्रस्ताव पेश गनुपर्ने भएकाले पनि ओलीले शंकर पोखरेललाई चुनेको उनीहरू बताउँछन्।
यद्यपि शंकर पोखरेलपछि उनका विश्वास पात्र दलका उपनेता सुबास नेम्वाङ र उपमहासचिव विष्णु पौडेल पनि नेतृत्वका आकांक्षी हुन्। स्रोतका अनुसार महासचिव पोखरेलसँग भने ओलीको पहिलाको जस्तो निकटता नभएको जानकारहरू बताउँछन्।
ओलीले आफूपछि नेतृत्वमा विष्णु पौडेल र शंकर पोखरेललाई देखेको राजनीतिक विज्ञहरुको विश्लेषण छ। बेलाबेला एमालेमा ओलीको उत्तराधिकारीमा महासचिव पोखरेल, नेम्वाङ र पौडेलको नै बढी चर्चा हुने गथ्र्यो। तर शंकर पोखरेलको त्यति चर्चा हुँदैनथ्यो।
वैचारिक नेताका रुपमा चिनिने शंकर पोखरेल अनेरास्ववियुका पूर्वअध्यक्ष समेत हुन्। ईश्वर पोखरेल र सुवस नेम्वाङभन्दा जुनियर भएकाले सबैले उनलाई नेता मान्ने सम्भावना कम हुँदाहुँदै पनि आजको घटनापछि अन्य नेताहरु झस्किएका छन्।