नेटवर्किङ व्यवसायको नाममा ठगी गर्ने दुई जना पक्राउ


काठमाडौं – महानगरीय अपराध महाशाखाको टोलीले नेटवर्किङ व्यवसायको नाममा अनलाइन माध्यमबाट ठगी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

उक्त टोलीले काभ्रेको धुलिखेल घर भई काठमाडौंको चावहिल बस्ने २७ वर्षीय नवराज गौतम र रामेछापको खाँडादेवी गाउँपालिका घर भई काठमाडौंको बौद्ध बस्ने २५ वर्षीय विनोद महतेलाई बिहीबार पक्राउ गरेको हो ।

उनीहरुले भारतको सिलीगुडीमा इजाजतविना नै सञ्चालनमा रहेको इम्पोरियम मार्केटिङ प्रालिसँग सम्पर्क राखी पिरामिड शैलीको सदस्य बनाएर रकम पठाउन लगाई ठगी गरेको प्रहरीको भनाइ छ ।

उक्त कम्पनीमा सदस्य बनेमा साल्ट ल्याम्प, कपडा, औषधिजन्य वस्तु सस्तो मूल्यमा पाउने भन्दै सदस्यता लिनका लागि पीडितलाई आईएमई र बैंक खातामा १ लाख २० हजार रुपैयाँ पठाउन लगाएर ठगी गरेको देखिएको महाशाखाले जनाएको छ ।

पक्राउ परेका दुवै जनालाई आवश्यक कारबाहीका लागि शुक्रबार वाणिज्य, आपूर्ति तथा हित संरक्षण विभाग, बबरमहलमा पठाएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया