

‘बर्ष गीतकार पुरस्कार’ दहाललाई

काठमाडौं – गीतकार रमेश दहालले ‘वर्ष गीतकार पुरस्कार’बाट पुरस्कृत भएका छन् । गीतकार संघ नेपालको ११औँ बार्षिकी तथा राष्ट्रिय श्रष्टा सम्मान २०७७ मा दहाललई वर्ष गीतकार पुरस्कार प्रदान गरिएको हो ।
मोरङको सुन्दर हरैचामा सम्पन्न कार्यक्रममासंगीतकार सन्तोष श्रेष्ठको संगीत र कर्ण दासको स्वर रहेको ‘आफैँ हिँड्ने भिरको बाटो’मार्फत नगद ५७ हजारसहित गीतकार दहालले सो पुरस्कार पाएका हुन् ।
देशैभरिबाट नियमित गीत लेखिरहने ४५ जना गीतकारहरुका गीतमध्ये विज्ञ समितिले उत्कृष्ट १० छानेकोमा गीतकार प्रमोद ढुंगाना र गंगाराम मुकारुङको जुरी टिमले दहालको गीत कार्यक्रम स्थलमै उत्कृष्ट गीतको रुपमा छानिएको निणर्य वाचन गरी घोषणा गरेको थियो । कार्यक्रममा गीतमा समाजमा देखिएका यावत समस्यासमेत लेख्न रमेश दाहाल सफल रहेको चर्चा गरिएको थियो ।
गीतकार दहालले रेडियो नेपालले आयोजना गर्ने आधुनिक गीत प्रतियोगितामा दुई दुई पटक उत्कृष्ट गीतकारको पुरस्कार प्राप्त गरेका छन् । उनले म्युजिक खबर म्युजिक अवार्ड, सातौँ नेशनल क्यापिटल अवार्ड, सगरमाथा म्युजिक अवार्ड, लगायत दर्जनौँ अवार्ड तथा पुरस्कारहरु समेत प्राप्त गरिसकेका छन् ।
दहालका पूर्वको बादल जल्यो, फेरि तिम्रो सम्झनाले, आफैँ हिँड्ने भिरको बाटो, किनारामा उभिएर, रानी खोला, जननी जन्मभूमि, खैरो खैरो, मायामा कुर्न, सोचेको जति सबै कुरा, केवल यादमा तिम्रो, मिल्टेरिको जुत्ता, तिमीलाई भेट्दालगायत गीत चर्चित छन् ।
तेस्रो गीत संग्रहको तयारी गरिरहेका दहालका हिउँको पूmल (२०७५) र बालुवाको घर (२०६२)जस्ता कृतिहरु प्रकाशन भएका छन् । झण्डै तीन दर्जन सांगीतिक एल्बममा गीत लेखेका दहालका २०७५ सालमा शान्ति अंकुर र २०७६ सालमा पूर्वको बादल जल्यो बोलको गीत उत्कृष्ट १० मा परेका थिए ।

