

सिंहदरबारमा एमाले संसदीय दलको बैठक जारी, वामदेव पत्नी तुलसा पनि सहभागी

काठमाडौं – प्रमुख प्रतिपक्षी नेकपा एमालेको संसदीय दलको बैठक सिंहदरबारमा बसिरहेको छ ।
सिंहदरबारस्थित एमाले संसदीय दलको कार्यालयमा बुधबार बिहान बैठक बसेको हो। नेकपा एमालेका प्रमुख सचेतक विशाल भट्टराई बैठक जारी रहेको बताए।
आज अपरान्ह ४ बजेका लागि प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठक बस्दैछ। उक्त बैठकअगाडि एमालेले संसदीय दलको बैठक राखेको हो। एमालेले संसदमा कडा रूपमा प्रस्तुत हुने संकेत गरेको छ।
एमाले अध्यक्ष केपी शर्मा ओलीले नै सभामुख अग्निप्रसाद सापकोटाको भूमिकामाथि लगातार प्रश्न उठाइरहेका छन्। उनले आफूले सिफारिस गरेका १४ सांसदलाई कारवाहीको सूचना प्रकाशित नगरेकोमा आपत्ति जनाएका थिए।
त्यस्तै नेकपा एमालेबाट राजिनामा दिएर पार्टी परित्याग गरेका एमालेका तत्कालिन उपाध्यक्ष बामदेव गौतमका धर्मपत्नी तुलसा थापामगर एमाले संसदीय दलको बैठकमा उपस्थित भएकी छिन् ।
बैठकमा गौतम पत्नी थापा उपस्थित भएको सांसद कोमल वलीले जानकारी दिएकी छिन ।

