

९ करोड रूपैयाँको करिब ३ किलो कोकिनसहित तीन विदेशी पक्राउ

काठमाडौं – नेपाल प्रहरीले करिब ९ करोड रूपैयाँ बजार मूल्य पर्ने २ किलो ९६६ ग्राम कोकिनसहित तीनजनालाई पक्राउ गरेको छ ।
लागूऔषध नियन्त्रण ब्यूरोले एक पत्रकार सम्मेलन गरेर तीन देशका नागरिकलाई उक्त परिमाणको कोकिनसहित सार्वजनिक गरेको हो ।
पक्राउ पर्नेमा तान्जानियाका गेर्तुदे लियोनार्ड किमारो र दक्षिण अफ्रिकन नागरिक शिर्ले गामा, भारतीय नागरिक विजय सिंह छन् । उनीहरू मध्ये किमारो सिन्धुलीको खुर्कोटबाट र अन्य दुईजनालाई काठमाडौंबाट पक्राउ परेको जनाइएको छ ।
पक्राउ परेका उनीहरुको साथबाट ९ करोड नेपाली रुपैयाँ बराबरको कोकिन बरामद गरेको ब्यूरोले जनाएको छ ।
कतार एयरलाइन्सबाट आएका दक्षिण अफ्रिकी नागरिकले भारतीय नागरिकलाई उक्त कोकिन दिन लागेको भन्ने सूचनाको आधारमा पक्राउ गरिएको ब्यूरोले जनाएको छ।
पक्राउ परेका उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

