

डुबेर ३ जनाको मृत्यु, एक जना मृत अवस्थामा फेला

मकवानपुर – भिमफेदी गाउँपालिका-८ कोगटे खोलामा डुबेर ललितपुर, ललितपुर महानगरपालिका-८ बस्ने १९ वर्षीय सितब बडालको शनिबार दिउँसो मृत्यु भएको छ । उनी सहित ६ जना पौडी खेल्न गएको अवस्थामा सितल बेपत्ता भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय भिमफेदी र प्रहरी चौकी सिस्नेरीबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा सोही ठाउँमा उनको शव फेला परेको हो ।
प्युठान, प्यूठान नगरपालिका-९ सिमलगैरास्थित प्यूठान नगरपालिकाले कृषि सिचाईको लागि बनाएको पोखरीमा डुबेर सोही नगरपालिका-८ दम्ती बस्ने ४६ वर्षीया जमुना कुमालको शनिबार साँझ मृत्यु भएको छ ।
दाङ, गढवा गाउँपालिका-५ चयनपुर बस्ने ६० वर्षीय राम प्रसाद चौधरीको डुबेर शनिबार साँझ मृत्यु भएको छ । आफ्नै घर नजिकै खोलामा माछा मार्ने क्रममा खोलामा डुबेर अशक्त भएका उनको लमही अस्पताल हुँदै थप उपचारको लागि राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोराहीतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।
मृत अवस्थामा फेला
दाङ – तुलसीपुर उपमहानगरपालिका-३ सुन्दर टोल बस्ने ७८ वर्षीय खिमलाल पुरी आफ्नै घरमा शनिबार मृत अवस्थामा फेला परेका छन । आवश्यक सोधपुछ तथा अनुसन्धानका लागि उनकै श्रीमतीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

