‘कोर्टमार्सल’ गरिएका दुई सैनिक न्यायको प्रतिक्षामा, कामु प्रधानसेनापतिले बुझ्दैछन् प्रतिवेदन

विदामा बसे पनि प्रधानसेनापति पूर्णचन्द्र थापाले चासोका साथ निर्देशन दिए


काठमाडौं– अढाई वर्षअघि सेनाको चितवनस्थित कालीबहादुर गणबाट हतियार चोरीको आरोपमा ‘कोर्टमार्सल’ गरिएका दुई सैनिक न्यायको ब्यग्र प्रतिक्षामा छन्। उनीहरू अझै पनि चितवन कारागारमा जेल सजाय काटिरहेका छन्।

हतियार चोरेको आरोपमा ६ वैशाख २०७६ मा सैनिक अदालतकै फैसला बमोजिम उदयपुरका लबकुमार गुरुङलाई १० वर्ष र मोरङका सरोज तामाङलाई ७ वर्ष कैद सजाय तोकिएको छ।

सोही हतियार सेनाका सिपाही गंगाधर ढकालले अर्कै मितिमा गणबाट चोरेको बयान दिइसकेका छन्। ढकालले हतियार चोरी गर्दाको उल्लेखित विवरणअनुसार सबै बयान दिएपछि जेलमा रहेका उनीहरू निर्दोष रहेको पुष्टि हुन्छ।

कालीबहादुर गणबाट हराएको ‘स्टर्लिङ ९ एमएम एनकेआर १००७९२’ नम्बरको एसएमजी त्यहि हो, जुन ढकालको साथबाट प्रहरी जफत गरेको छ। जिल्ला अदालत चितवनमा ढकालले दिएको बयान मिसिलमा ‘स्टर्लिङ ९ एमएम एनकेआर १००७९२’ कै एसएमजी भनेर लेखिएको छ।

ब्यारेकबाट हराएको सोही हतियार ७ साउनमा चितवनमा भएको सेनाकै भरत गुरुङको हत्यामा प्रयोग भएपछि पुरानो घटनाको नयाँ पटाक्षेप सतहमा आएको थियो।

अनलाइनन्युजले उक्त हतियार प्रकरणमा दुई सिपाहीले कोर्टमार्सलसहित झूठा मुद्दामा सजाय भोगीरहेको विषयलाई सतहमा ल्याएको थियो।

ढकालको बयानलगत्तै नेपाली सेनाले कर्णेलको नेतृत्वमा छानबिन समिति गठन गरेर अनुसन्धान गरिरहेको छ। उक्त समितिले विदाको समयमा पनि अनुसन्धान गरिरहेको स्रोतले जनाएको छ।

‘गंगाधरको अपराधले अर्को मुद्दालाई समेत जोडेको हुँदा जेलमा रहेका दुई सैनिक निर्दोष रहेको हुनसक्ने आधारहरू प्रशस्त भेटिएको हुँदा छिटो भन्दा छिटो यो केसलाई सुल्झाउनको लागि समितिले विदाको समयमा पनि अनुसन्धान गरिरहेको छ,’ नेपाली सेनाको उच्च स्रोतले भन्यो।

सेनाको कर्णेल नेतृत्वको छानबिन समितिले सोमबार वा मंगलबार प्रतिवेदन कायममुकायम प्रधानसेनापति प्रभुराम शर्मालाई बुझाउँदैछ। सोमबार (आज) विदा परेका कारण मंगलबारसम्म प्रतिवेदन सैनिक जङ्गी अड्डा पुग्नेछ।

समितिले प्रतिवेदन बुझाएलगत्तै ‘कोर्टमार्सल’ गरिएका दुई सैनिकको मुद्दा किनारा लाग्नेछ। यदि उनीहरू निर्दोष रहेको पुष्टि हुन आएमा उनीहरूलाई तत्कालै रिहा गर्न आदेश दिने सेनाका उच्च अधिकारीले अनलाइनन्युजलाई बताए।

‘चिफसा’पले उचित क्षतिपूर्तिसहित उनीहरूलाई रिहा गर्न आदेश दिनुहुनेछ,’ सैनिक उच्च स्रोतले भन्यो, ‘त्यसैले उक्त केसलाई विदामा बस्नुभएका चिफसा’प र कामु चिफसा’प दुवै जनाले गम्भीरतापूर्वक लिएर अनुसन्धान गर्न निर्देशन दिनुभएको थियो।’

अवकाश अघिको विदामा रहे पनि यो प्रकरणलाई प्रधानसेनापति पूर्णचन्द्र थापाले गम्भिरताका साथ हेरेर सुल्झाउनका लागि निर्देशन दिएको बताइन्छ।

चितवन अदालतका न्यायाधीश हेमन्त रावलको इजलासमा भएको थुनछेक बहसपछि ढकाललाई गत बुधबार मिसिलसहित सैनिक अदालत पठाइएको छ।

गंगाधरले नै हतियार चोरी गरेर हत्या गरेको स्वीकारेको अवस्थामा नेपाली सेनाको जङ्गी अड्डाले छानबिनका लागि पठाएको टोलीले कस्तो रिपोर्ट बुझाउला? भन्ने चासो सर्वत्र छ।

लबकुमार र सरोज निर्दोष रहेको अनुसन्धानबाट खुल्न आएमा चोर्ने एउटा सजाय अर्कैले खेपिरहँदा नेपाली सेनाको न्यायिक अनुसन्धान प्रक्रियामाका विषयमा पनि आन्तरिक छानबिन हुन सक्नेछ। उक्त प्रकरणका बेला तत्कालिन छानबिन समितिलाई सेनाले स्पष्टिकरण सोध्न सक्ने बताइन्छ।

हतियार चोरीको अभियोगमा जेलमा रहेका उनीहरू निर्दोष देखिएसँगै तत्कालिन सैनिक अदालतका अध्यक्ष सहाकय रथी सहदेव खड्का, अनुसन्धान टोली गणका तत्कालिन मेजर दीपेन्द्र श्रेष्ठ र क्याप्टेन गणेश ढकालको योजनामा लबकुमार र सरोजलाई घटनाको गहन अनुसन्धान नै नगरी फसाउन खोजिएको प्रष्ट हुन्छ।

हालैको हत्याकाण्डमा फेला परेको हतियारका कारण ‘कोर्टमार्सल’ भई जेलमा रहेका उनीहरू निर्दोष रहेको र उनीहरूलाई व्यक्तिगत रिसइबीका कारण फसाइएको भन्ने पीडितका परिवारको दाबीमा सत्यता देखिन आउँछ।

सैनिक प्रवक्ता सहायकरथी सन्तोषबल्लभव पौडेलका अनुसार हत्यामा प्रयोग भएको हतियार सेनाबाटै चोरी भएको भन्ने जानकारी आएपछि अनुसन्धान जारी छ।

हतियार चोरीमा हाल जेलमा रहेका सैनिकद्वय दोषी हुन् वा निर्दोष भन्ने पुष्टि सेनाको आन्तरिक छानबिन समिति र प्रहरीको अनुसन्धानको आधारमा तय हुने प्रवक्ता पौडेल बताउँछन्। उनी भन्छन्, ‘सम्भवतः १–२ दिनमै घटनाको अनुसन्धान प्रक्रिया सकिन्छ होला।’

प्रतिक्रिया